बिहिबार, २९ असोज २०८३
बुधबार, १४ असोज २०८३ · राजनीति
काठमाडौं, असोज १४ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरूलाई राजनीतिक दाउपेचभन्दा माथि उठेर आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गर्नुभएको छ।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिनिधि सभाका प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलका क्रममा प्रधानमन्त्री शाहले उहाँहरूलाई दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन निर्देशन दिनुभएको हो।
छलफलका क्रममा प्रधानमन्त्री शाहले भन्नुभयो, “तपाईंहरू आफैँ प्राविधिक विषयमा जानकार हुनुहुन्छ र मुलुकको नीति निर्माण गर्ने प्रमुख ठाउँमा हुनुहुन्छ। त्यसैले देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्।”
उहाँले चुनाव वा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा भने प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
सांसदहरूलाई परिवर्तनको संवाहकका रूपमा औँल्याउँदै प्रधानमन्त्रीले नयाँ सोच र उपायसहित काम गर्ने नेतृत्व भएमा आउँदो पाँच वर्षभित्रै मुलुकको रूपान्तरण सम्भव रहेको धारणा व्यक्त गर्नुभयो।