logo-image

बिहिबार, ३१ वैशाख २०८३

दर्शकको मन जितिरहेको ‘मालती मङ्गले’ अमेरिका र क्यानडामा रिलिज हुँदै, अग्रिम बुकिङ उत्साहजनक

बिहिबार, ३१ वैशाख २०८३ · मनोरञ्जन

दर्शकको मन जितिरहेको ‘मालती मङ्गले’ अमेरिका र क्यानडामा रिलिज हुँदै, अग्रिम बुकिङ उत्साहजनक

काठमाडौं, वैशाख ३१ । गत शुक्रवारबाट नेपालभर प्रदर्शनमा आएर दर्शकको अपार माया पाइरहेको नेपाली चलचित्र ‘मालती मङ्गले’ अब उत्तर अमेरिकाका दर्शकमाझ पुग्ने भएको छ । सेभेन सिज इन्टरनेशनल फिल्म्स र नेपाल ११ इन्टरटेनमेन्टको सहकार्यमा यो चलचित्र अमेरिकामा यही मे १५ तारिख, शुक्रवारदेखि बक्स अफिसमा दैनिक शोसहित प्रदर्शनमा आउन लागेको हो । 

अमेरिकाका सान फ्रान्सिस्को, ड्यालस, सिकागो, क्लिभल्याण्ड, सिनसिनाटी, कोलम्बस र अस्टिन लगायतका प्रमुख सहरहरूमा रिलिज हुन लागेको यस चलचित्रको अग्रिम बुकिङ निकै उत्साहजनक रूपमा भइरहेको छ। अङ्ग्रेजी सबटाइटलसहित प्रदर्शन हुने यस चलचित्रको क्यानडा रिलिजका लागि पनि अधिकार बिक्री भइसकेको छ । आँगन इभेन्ट्सले क्यानडाको प्रदर्शन अधिकार खरिद गरेको हो । यो रिलिजसँगै डायस्पोरामा पनि दर्शकको व्यग्र प्रतीक्षा रहेको प्रस्ट हुन्छ। यस्तै अन्य देशमा पनि ‘सोल्ड आउट’ भइरहेको र यसको जानकारी छिट्टै दिने निर्माता रामकृष्ण ढकालले बताए । 

नेपालमा प्रदर्शनको पहिलो सातामै दर्शकहरूको स्वतःस्फूर्त सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’ का कारण अहिले देशभरका सिनेमाघरहरूमा दर्शकको चाप उल्लेख्य बढेको छ । सिनेमा हेरेर बाहिरिएका अधिकांश दर्शकले यसलाई पेट मिचीमिची हँसाउनेदेखि लिएर आँखा रसाउनेसम्मको गहिरो भावनात्मक यात्रा गराउने ‘नेपालीपन बोकेको अब्बल मास्टरपिस’को सङ्ज्ञा दिएका छन् । विशेष गरी अभिनेत्री वर्षा राउतको मर्मस्पर्शी अभिनय तथा अभिनेताद्वय विजय बराल र मेक्सम गौडेलको प्रस्तुतिले सबैको मन जितेको छ भने दर्शकबाट प्राप्त मायाले चलचित्रको बक्सअफिस यात्रा आगामी दिनमा थप रफ्तारमा अगाडि बढ्ने निश्चित देखिएको छ ।

रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यस चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन् । निर्देशक पाण्डेय स्वयंको कथा रहेको चलचित्रको पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन् । चलचित्रमा विजय, वर्षा र मेक्समका साथमा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङको सशक्त अभिनय रहेको छ । सागर ज्ञवाली कार्यकारी निर्माता रहेको यस चलचित्रमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह–निर्माताका रूपमा रहेका छन् । महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ ।