मङ्गलबार, ०८ वैशाख २०८३
मङ्गलबार, ०८ वैशाख २०८३ · राजनीति
काठमाडौं, वैशाख ८ । नेकपा एमालेका नेता महेश बस्नेतले व्यवसायी दीपक भट्ट र वर्तमान गृहमन्त्री सुदन गुरुङबीच गहिरो व्यवसायिक सम्बन्ध रहेको दाबी गर्दै गृहमन्त्रीको राजीनामा माग गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता बस्नेतले गृहमन्त्री र भट्टबीच आर्थिक लेनदेन र शेयर हिस्सा रहेको तथ्य बाहिरिएको बताउनुभएको हो।
मुख्य नेताहरूसँग जोडेर बदनाम गर्ने प्रयास नेता बस्नेतले व्यवसायी भट्टको नाम अनावश्यक रूपमा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल 'प्रचण्ड' र शेरबहादुर देउवासँग जोडेर बदनाम गर्न खोजिएको बताउनुभएको छ। "नेपाली मिडिया र बालेन समर्थकहरूले शीर्ष नेताहरूलाई बदनाम गर्न भ्याइनभ्याई गरिरहेका थिए, तर अनुसन्धान गर्दा उहाँहरूसँगको कुनै कनेक्सन देखिएन," बस्नेतले लेख्नुभएको छ।
बस्नेतले भट्टको वास्तविक सम्बन्ध काठमाडौँका मेयर बालेन शाह निकट मानिएका गृहमन्त्री सुदन गुरुङसँग नै रहेको आरोप लगाउनुभएको छ। गृहमन्त्रीको २५ लाख बराबरको शेयर हिस्सा र कार्की आयोगका सदस्य विज्ञानराज शर्माको १० लाख बराबरको शेयर रहेको तथ्यलाई उद्धृत गर्दै बस्नेतले नैतिकताको आधारमा गृहमन्त्रीको राजीनामा माग्नुभएको छ ।
व्यवसायी भट्ट दोषी हुन् वा होइनन् भन्ने कुरा न्यायालयले तय गर्ने बताउँदै बस्नेतले गृहमन्त्रीले भने नैतिकताका आधारमा तत्काल राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने माग गर्नुभएको हो। उहाँले थप चेतावनी दिँदै लेख्नुभएको छ, "यदि उनले राजीनामा दिएनन् भने मन्त्री बन्नुभन्दा केही दिन अगाडि तातोपानी जाँदाको काण्डसँग सम्बन्धित भिडियो फुटेजसमेत पत्रकारहरूले तयार पारेर राखेका छन्।"
बस्नेतले गृहमन्त्रीको पृष्ठभूमिका कारण ढिलो वा चाँडो उनको पद जाने निश्चित रहेको समेत जिकिर गर्नुभएको छ।