बुधबार, २४ भदौ २०८३
बुधबार, २४ भदौ २०८३ · राजनीति
काठमाडौं, भदौ २४ । नेकपा एमालेका सचिव महेश बस्नेतले राज्यको स्रोत, साधन र सामथ्र्यलाई नियन्त्रणमा जेन–जी आन्दोलनका निश्चित मानिसहरुलाई बताउने खेल भएको दाबी गर्नुभएको छ ।
बुधवार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै बस्नेतले यस्तो बताउनुभएको हो । आफूहरूले विगतमा अपराधमा संलग्न व्यक्तिविरुद्ध दिएका जाहेरी तथा पक्राउ गरेर प्रहरीलाई बुझाएका व्यक्तिमाथि समेत कारबाही नभएको भन्दै प्रहरी प्रशासनमाथि प्रश्न उठाउनु भयो । उहाँले कारबाही नहुनुले प्रहरीसमेत घटनामा संलग्न रहेको आशंका पैदा भएको दाबी गर्ने बताउनु भयो । बस्नेतले जेन–जी प्रदर्शन घटनामा प्रहरी संरचनासमेत ठूलो क्षतिमा परेको उल्लेख गर्दै प्रहरी चौकी, अदालत, सवारीसाधन तथा हतियारमा ठूलो क्षति भएको बताउनु भयो । उहाँले यस्तो अवस्थामा पनि दोषीमाथि कारबाही हुन नसक्नु गम्भीर विषय भएको बताउनु भयो । उहाँले जेन–जी घटनाको छानबिनका लागि गठन भएको कार्की आयोगको निष्पक्षतामाथि समेत प्रश्न उठाउनु भयो । सिंहदरबार, संसद तथा सर्वोच्च अदालतलगायतका संरचनामा भएको आगजनी र हिंसाबारे निष्पक्ष छानबिन हुनुपर्ने उहाँको भनाइ छ । बस्नेतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी १३ दिनसम्म राखिएको प्रसंग उठाउँदै त्यसबाट के अभियोग स्थापित भयो भन्ने प्रश्नसमेत गर्नुभयो । उहाँले प्रधानमन्त्री बालेन्द्र साह, गृहमन्त्री सुदन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतका व्यक्तिमाथि पनि घटनाको गम्भीर छानबिन भए कारबाहीको आधार भेटिन सक्ने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘ जेन–जी आन्दोलनका क्रममा गोली चलाउने पनि तिमीहरू नै हौ, सिंहदरबार, संसद् र सर्वोच्च अदालत जलाउने पनि तिमीहरू नै हौ भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ। तर यी घटनाको निष्पक्ष र गम्भीर छानबिन हुनुपर्छ । कार्की आयोगको रिपोर्टका आधारमा बालेनको सरकार बनेको २४ घण्टा नबित्दै बिहान ३ बजे केपी ओलीलाई गिरफ्तार गरियो । त्यसपछि रमेश लेखकलाई पनि गिरफ्तार गरियो। १३ दिनसम्म हिरासतमा राख्दा पनि उनीहरूमाथि के अभियोग लगाउन सकियो ? त्यसको जवाफ सरकारले दिनुपर्छ । जेन–जी आन्दोलनका क्रममा भएका हत्या, हिंसा र आगजनीको गम्भीर छानबिन हुने हो भने बालेन, सुदन र रविसहित जिम्मेवार देखिएका सबैमाथि कानूनी कारबाही हुनुपर्छ । हामीसँग आवश्यक आधार र प्रमाणहरू सुरक्षित छन् । त्यसैले कसैलाई राजनीतिक संरक्षण दिइनु हुँदैन । प्रत्येक घटनाको एक–एक हिसावकिताव हुनुपर्छ ।’
बस्नेतले वर्तमान सरकारलाई ‘असक्षम, अयोग्य र कठपुतली सरकार’को संज्ञा दिनुभयो । विदेशी शक्तिको प्रभावमा सरकार चलेको आरोप लगाउँदै उनले सरकार जति लामो समय रहन्छ, मुलुकलाई त्यति नै क्षति हुने दाबी गर्नुभयो । बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धारमा समेत सरकार असफल भएको उहाँको आरोप छ । उहाँले विपद्को समयमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरूको भने प्रशंसा गर्नुभयो । तर, सुरक्षा निकायको नेतृत्व र समग्र संस्थामाथि गम्भीर प्रश्न उठेको उहाँको भनाइ छ । बस्नेतले रसुवा, नुवाकोट, धादिङलगायतका प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकप्टर पर्याप्त रूपमा प्रयोग हुन नसकेको आरोप लगाउनु भयो । पीडितहरूले रकम तिरेर समेत हेलिकप्टरमार्फत उद्धार गर्न खोज्दा अनुमति नदिइएको उहाँको दाबी छ । –न्युज एजेन्सी नेपाल