logo-image

बुधबार, १४ असोज २०८३

महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग

बुधबार, १४ असोज २०८३ · राजनीति

महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग

 

काठमाडौं, असोज १४ ।   कञ्चनपुरस्थित महाकाली नदीमा आएको भीषण बाढीका कारण पर्यटकीय तथा रणनीतिक महत्व बोकेको बहुचर्चित दोधरा चाँदनी झोलुङ्गे पुलको करिव ७५ मिटर भाग क्षतिग्रस्त भएको छ । 
नदीको भङ्गालोले पुलको बीच भागमा रहेको टावर ब्लक तथा स्पर क्षेत्र कटान गरेपछि महाकालीपारिको बस्तीलाई सदरमुकाम महेन्द्रनगरसँग जोड्ने मुख्य पैदलमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो । प्रतिनिधि सभाको बुधवारको बैठकमा विशेष समय लिएर बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ज्ञानेन्द्र सिंह महताले पुल क्षतिग्रस्त हुँदा दोधरा चाँदनीवासीको दैनिक जनजीवन कष्टकर बनेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधित्व गर्नुहुने सांसद महताले घटना राति करिव ११ बजे भएकाले मानवीय क्षति हुन नपाए पनि स्थानीय बासिन्दा, विद्यार्थी, कर्मचारी तथा दैनिक ज्यालादारी गर्ने सर्वसाधारणको आवागमन ठप्प भएको जानकारी दिनुभयो । सांसद महताकाअनुसार महाकालीपारिको दोधरा चाँदनीलाई आफ्नै जिल्लाको सदरमुकामसँग जोड्ने उद्देश्यसहित वि.सं. २०५७ सालदेखि निर्माण शुरु गरिएको यो पुल २०६१ सालमा सम्पन्न भएको थियो । ९ करोड ४० लाख रुपैयाँ लागतमा निर्मित १ हजार ४५३ मिटर लामो उक्त संरचना एशियाकै लामो झोलुङ्गे पुलका रूपमा समेत परिचित छ । पुल निर्माण हुनुअघि स्थानीय बासिन्दा सदरमुकाम पुग्नसमेत भारतीय भूमि भएर यात्रा गर्न बाध्य थिए । यो पुल सञ्चालनमा आएपछि उक्त बाध्यता हटेको मात्र नभई पश्चिम नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा समेत विकास भएको थियो । 
पुल भासिएपछि सीमावर्ती दोधरा चाँदनी क्षेत्रको पर्यटन व्यवसाय र स्थानीय अर्थतन्त्रमा ठूलो धक्का पुगेको छ । सांसद महताले यो केवल भौतिक संरचनाको क्षति मात्र नभई हजारौँ नागरिकको अवसर र जीवनरेखामाथिको प्रहार भएको बताउनु भयो । उहाँले तत्काल स्थलगत प्राविधिक टोली खटाई क्षतिको विस्तृत मूल्यांकन गर्न, पुलको समग्र संरचनागत सुरक्षाको परीक्षण गरी यथाशीघ्र पुनर्निर्माण थाल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग माग गर्नुभयो । त्यस्तै, महाकाली नदीमा आउने मौसमी बाढी र कटानबाट भविष्यमा यस्ता रणनीतिक पूर्वाधार जोगाउन नदी नियन्त्रण, तटबन्ध निर्माण र दीर्घकालीन सुरक्षा कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल