बिहिबार, ३२ असार २०८३
बुधबार, ११ चैत २०८२ · अर्थ
काठमाडौं, चैत ११ । चालु आर्थिक वर्षको साढे नौ महिना बित्न लाग्दा लक्ष्यको जम्मा आधा मात्रै राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य राखेको छ । तर साढे ९ महिना बित्दा जम्मा ७ खर्ब ७० अर्बमात्रै उठेको छ । यो लक्ष्यको ५२ दशमलव शुन्य पाँच प्रतिशतमात्रै हो ।
यसले सरकारको लक्ष्य पनि वास्तविक नभएको देखिन्छ । अब नयाँ सरकारले राजस्व बढाउन करका दायराहरु बढाउँदै दर समायोजन गर्ने र चुहावट नियन्त्रण गर्नुपर्ने देखिन्छ ।
अर्काेतिर सरकार आफैले खर्च नगरि बसेको छ, जसका कारण अर्थतन्त्र चलायमान गराउन मात्रै हैन, आफ्नै राजस्वमा समेत धक्का पुगेको छ । चोरी पैठारी नियन्त्रण हुन नसक्नु तथा करको दायरा अर्थात कर लाग्ने ठाउँमा पनि असफल हुँदा लक्ष्य अनुरुप कर उठ्न सकेको छैन ।
चालु आर्थिक वर्षको साढे नौ महिना बित्न लाग्दा आम्दानीभन्दा खर्च कम हुँदा सरकारको बजेट नै १ खर्ब ६२ अर्बले घाटामा गएको छ । साढे नौ महिनामा २० प्रतिशतमात्रै बिकास खर्च भएको छ भने लक्ष्यको आधामात्रै राजस्व उठेको छ ।
लक्ष्यअनुरुप आम्दानी हुन नसक्दा बजेट १ खर्ब ६२ अर्बले घाटामा छ । अनुदान तथा राजस्वसँगै शुल्कबाट ७ खर्ब ८८ अर्ब जोहो गरेकामा ९ खर्ब ५० अर्ब त खर्च भइसकेको छ । यसरी भएको खर्चमध्ये कर्मचारीको भत्ता तथा तलबसँगै सामाजिक सुरक्षा अर्थात चालुमा ६ खर्ब ६२ अर्र्ब खर्च भएको छ ।
राजस्वले चालु खर्च धाने पनि विदेशबाट लिएको ऋणको सावा तथा ब्याज तिर्न नै फेरि ऋण लिनुपर्ने अवस्था छ ।स रकारले अहिलेसम्म २ खर्ब ५ अर्ब ऋण तिरेकामा ९७ अर्ब त थप ऋण लिएर सावा तथा ब्याज भुक्तान गरेको छ ।
ऋण लिएर ब्याज तिरेका बेलामा सरकारले अहिलेसम्म ८१ अर्बमात्रै बिकासमा खर्च गर्न सकेको छ, जुन लक्ष्यको २० प्रतिशत मात्रै हो ।