बिहिबार, २९ असोज २०८३
बुधबार, ३१ भदौ २०८३ · समसामयिक
काठमाडौं, भदौ ३१ । पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीर सडकखण्डमा निर्माण कार्य तीव्र रूपमा अघि बढाइएको छ। हालसम्म करिब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको जनाइएको छ।
कृष्णभीरको २७० मिटर नव-निर्मित सडकखण्डमा कटिङ, ग्राभेलिङ तथा सब-सर्फेस ड्रेनेज निर्माणको काम सम्पन्न भइसकेको छ। बाँकी रहेको सब-बेस निर्माणको काम पनि आज बेलुकासम्म पूरा गर्ने गरी कार्य अघि बढाइएको बताइएको छ।
निर्माण कार्यलाई तीव्रता दिन रातको समयमा समेत काम गर्न फ्लड लाइटको व्यवस्था गरिएको छ। निर्माण कार्य सम्पन्न भएसँगै असोज १ गतेदेखि कृष्णभीर सडकखण्डमा सबै प्रकारका सवारीसाधन दुईतर्फी रूपमा सञ्चालन गरिने जानकारी दिइएको छ।
दुईतर्फी यातायात सञ्चालनमा आएपछि उक्त सडकखण्ड हुँदै आवतजावत गर्ने यात्रु तथा सवारीसाधनलाई सहज हुने अपेक्षा गरिएको छ।