बिहिबार, १८ भदौ २०८३
बिहिबार, २६ चैत २०८२ · राजनीति
काठमाडौं, चैत २६ । झण्डै दुई हप्ताको प्रहरी हिरासतपछि रिहा हुनुभएका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाइएको अभियोगलाई राजनीतिक प्रतिशोधको संज्ञा दिनुभएको छ।
१३ दिनसम्म 'गैरकानुनी नियन्त्रण' मा राखिएको दाबी गर्दै उहाँले अन्ततः सत्य र न्यायको जित भएको बताउनुभएको हो। बिहीबार अस्पतालबाट रिहा भएलगत्तै सामाजिक सञ्जालमा सन्देश जारी गर्दै ओलीले सरकारले पूर्वाग्रह राखेर आफूमाथि फौजदारी अभियोग लगाएको आरोप लगाउनुभयो। "मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु," उहाँले भन्नुभएको छ, "परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु।"
आफ्नो रिहाइको माग गर्दै प्रदर्शन गर्दा प्रहरी दमनमा परी घाइते भएका कार्यकर्ताहरूप्रति सहानुभूति प्रकट गर्नुभएको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँले उनीहरूको उपचार खर्च राज्यले बेहोर्नुपर्ने माग गर्नुभयो। "यसमा राज्य उदासीन भए पार्टीले नै उपचार खर्च बेहोर्नेछ," उहाँले प्रतिबद्धता जनाउनुभएको छ।
ओली हाल प्रतिकूल स्वास्थ्य अवस्थाका कारण त्रिवि शिक्षण अस्पतालमै हुनुहुन्छ। उहाँले केही दिन अस्पतालमै रहेर थप उपचार गराउने जानकारी दिनुभएको छ।