logo-image

बिहिबार, ०३ वैशाख २०८३

कार्की आयोगको सिफारिस ‘चरम पूर्वाग्रह’: अध्यक्ष ओली

बिहिबार, १२ चैत २०८२ · राजनीति

कार्की आयोगको सिफारिस ‘चरम पूर्वाग्रह’: अध्यक्ष ओली

काठमाडौं, चैत्र १२ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्की आयोगको प्रतिवेदनलाई ‘कुकर्म’ र ‘भद्दा नाटक’ को संज्ञा दिनुभएको छ । 

उहाँले फौजदारी अपराध दण्डसंहिता २०७४ को दफा १८१ र १८२ अनुसार आफूमाथि छानबिन गर्न गरिएको सिफारिसलाई कानूनी रूपमा ‘निराधार’ र ‘अस्वीकार्य’ भएको बताउनुभएको हो । ओलीले कानूनी तर्क प्रश्तुत गर्दै दफा १८१ र १८२ आकर्षित हुनका लागि सम्बन्धित व्यक्ति घटनास्थलमा उपस्थित हुनुपर्ने र घटना प्रत्यक्ष रूपमा उसैबाट गराइएको हुनुपर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्रीले गोली चलाउने आदेश नदिने र गोली पनि नचलाउने भन्दै आयोगका पदाधिकारीहरू पहिले नै एमाले विरुद्ध विषाक्त धारणा राख्ने व्यक्तिहरू भएकोले यस्तो प्रतिवेदन आएको दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘दफा १८१ र १८२ घटनास्थलमा व्यक्ति उपस्थित भएको हुनुपर्दछ र उसबाट घटना प्रत्यक्ष रूपमा घटाइएको हुनुपर्दछ । भवितव्यले होस् कि लापरवाहीले होस् जुनसुकै परिस्थितिमा पनि उसको उपस्थिति घटनास्थलमा आवश्यक छ अनि मात्र उसले लापरवाही गरेर यस्तो भयो भन्ने कुरा हुन्छ । जो मान्छे त्यहाँ उपस्थित नै छैन उसको लापरवाही भन्ने कुरै हुँदैन । यो वास्तवमा कुनै सिफारिस गर्न कुनै हिसावले न्यायाधीश भइसकेका मान्छे, प्रहरीको उच्च ओहदामा अनेक मुद्दाहरू हेरेर चलाएर छानबिन गरेर आएका मानिसहरूबाट जुन सिफारिस दफा १८१, १८२ भनेर भएको छ, त्यो अत्यन्तै निराधार र यो कानुनी हिसाबले प्रधानमन्त्रीको बारेमा, गृहमन्त्रीको बारेमा, आइजिपीको बारेमा सिफारिस गर्नै नमिल्ने कुरा हो । हाम्रो नाम त्यहाँ उल्लेख गर्नु भनेको चरम पूर्वाग्रह, कतै केही नपाएपछि नभेटेपछि बलजफती लगेर ती दफाहरू ठुँसेको छ त्यहाँ । यो चल्नै नसक्ने कुरा हो । यो बदनाम गर्ने, चरित्र हत्या गर्ने र घृणाको राजनीतिको अर्को प्रकटीकरण मात्रै हो ।’

यो सिफारिसलाई उहाँले बदनाम गर्ने र चरित्र हत्या गर्ने ‘घृणाको राजनीतिको अर्को प्रकटीकरण’ का रुपमा व्याख्या गर्नुभयो ।

 

निर्वाचन परिणाम ‘जादुमय र अनपेक्षित’: घृणाको राजनीतिको डटेर सामना गर्न ओलीको निर्देशन
 

ओलीले हालै सम्पन्न निर्वाचनको परिणामलाई ‘अनपेक्षित, अस्वाभाविक, अनपत्यारिलो र जादुमय’ भएको बताउनुभएको छ । 

नवनिर्वाचित प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुसँगको भेटघाट कार्यक्रममा उहाँले यसतो बताउनुभएको हो । उहाँले निर्वाचन प्रक्रिया र नतिजाका बारेमा विश्लेषण गर्दै विरोधीहरूले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय गन्तव्यलाई रुचाउन नसकेको बताउनु भयो । ओलीकाअनुसार देशमा शान्ति, सुव्यवस्था र न्यायपूर्ण समाज स्थापना हुन नचाहने तत्वहरूले ‘घृणाको राजनीति’ को खेती गरेका छन् । उहाँले राजनीतिलाई घृणाद्वारा निर्धारित गर्ने प्रयास भएको र यसमा विभिन्न पक्षबाट विरोधीहरूलाई सहयोग प्राप्त भएको बताउनु भयो । उहाँले पार्टी पंक्तिलाई डटेर यस्ता प्रवृत्तिको सामना गर्न र जनतामा सत्य कुरा पु¥याउन निर्देशन दिनुभएको छ । विशेष गरी सामाजिक सञ्जालमा हुने हमलाको प्रतिवाद गर्न एमाले कार्यकर्ताहरूमा ‘अरूले गरिदिए हुन्थ्यो’ भन्ने खालको निष्क्रियता देखिएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । उहाँले भ्रम र गलत कुराको खण्डन गर्न आफैँ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो, ‘यो निर्वाचन अनपेक्षित, अस्वाभाविक, अनपत्यारिलो र जादुमय छ । यसमा एउटा हाम्रा विरोधीहरूले अथवा हाम्रा उद्देश्यहरूका विरोधीहरूले समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य नरुचाउनेहरूले देशमा शान्ति सुव्यवस्था र न्यायपूर्ण समाज स्थापना गर्न नचाहनेहरूले देशमा घृणाको राजनीति गरे । राजनीतिलाई घृणाद्वारा निर्धारित गर्ने त्यस खेतीमा लागे ।  “हामी आफैँले सामाजिक सञ्जालको अत्यधिक प्रयोग गर्नुपर्दछ र प्रतिवाद गर्नुपर्दछ भन्ने कुरामा जतिसुकै ध्यान दिनुपर्छ भनिए पनि बोल्न तयार नहुने स्थिति भयो । बोल्न तयार नहुने स्थितिले सत्य कुरा जनतामा कसरी पु¥याउने ? हामी आफैँ बोल्न तयार छैनौँ, सत्य कुरा बोल्न तयार छैनौँ, गलतको खण्डन गर्न तयार छैनौँ, भ्रमको खण्डन गर्न तयार छैनौँ भने ।’
उहाँले आफ्ना सांसदहरूलाई अध्ययनशील र अनुशासित बन्न पनि निर्देशन दिनुभयो ।

–न्युज एजेन्सी नेपाल