logo-image

शुक्रबार, १९ भदौ २०८३

बीमा बोर्ड सदस्य जुनु श्रेष्ठको विवादास्पद उपस्थिति: ११ पटक बैठक छलेर पनि पुनः बोर्डमा फर्किएपछि कानुनी प्रश्न

मङ्गलबार, २४ चैत २०८२ · राजनीति

बीमा बोर्ड सदस्य जुनु श्रेष्ठको विवादास्पद उपस्थिति: ११ पटक बैठक छलेर पनि पुनः बोर्डमा फर्किएपछि कानुनी प्रश्न

काठमाडौं, चैत्र २४ । स्वास्थ्य बीमा बोर्डको नियमावलीलाई चुनौती दिँदै लगातार ११ पटकसम्म बैठकमा अनुपस्थित रहेकी बोर्ड सदस्य जुनु श्रेष्ठ एकाएक सोमबारको बैठकमा सहभागी भएकी छिन्।

२०८० मंसिर १४ गते तत्कालीन स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतद्वारा बीमित सदस्यको तर्फबाट नियुक्त श्रेष्ठले जानकारी नदिई लगातार तीन पटकभन्दा बढी बैठक छलेपछि बोर्डको ऐनअनुसार उनको पद स्वतः रिक्त भएको मानिएको थियो। सोही आधारमा बोर्डका तत्कालीन निर्देशक डा. रघुराज काफ्लेले २०८१ वैशाख ४ गते नै पद रिक्त भएको जानकारीसहित आवश्यक कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयलाई पत्र समेत काटेका थिए।

तर, लामो समय सम्पर्कविहीन रहेर बोर्डको निर्णय प्रक्रिया नै प्रभावित पारेकी श्रेष्ठलाई हाल नयाँ नियुक्ति बिना नै पुनः बैठकमा सहभागी गराइएको छ। स्वास्थ्य मन्त्रीको सचिवालयले उनलाई नयाँ नियुक्ति नभई पुरानै जिम्मेवारीमा 'निरन्तरता' मात्र दिइएको दाबी गरे पनि, कानुनी रूपमा पद रिक्त भइसकेको व्यक्तिको यसरी पुनरागमन हुनुले बोर्डको पारदर्शिता र सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ।

जुनु श्रेष्ठ श्रम मन्त्री दीपककुमार शाहको श्रीमती हुन् ।