शुक्रबार, ११ वैशाख २०८३
बिहिबार, १० वैशाख २०८३ · अर्थ
काठमाडौं, बैशाख १० । नेपाल धितोपत्र बोर्डको अध्ययन प्रतिबेदन अनुसार हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका पूर्व अध्यक्ष सुलभ अग्रवाल र विवादास्पद व्यवसायी दिपक भट्टले गैरकानुनी रुपमा सेयर कारोबार तथा त्यसको मूल्यमा प्रभाव पार्नेदेखिएको छ ।
भट्ट र अग्रवालका बिषयमा बोर्डले छुट्टाछुट्टै अध्ययन प्रतिबेदन तयार पारेको छ । जसमा दुबैले पुँजीबजार र पब्लिक कम्पनीमा रहेर गरिने गैर–कानूनी धन्दा गरेको देखिएको छ।
धितोपत्र बोर्डको ‘दिपक भट्टले गरेको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन, २०८३’ र ‘हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष सुलभ अग्रवाल र उनको छोरा कृषिव अग्रवालले गरेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३’ले गैरकानूनी काम भएको उजजागर गरेको हो ।
भट्ट र सुलभ अग्रवालकी श्रीमती सुभी अग्रवालले पब्लिक लिमिटेड कम्पनीको फण्ड (कोष) बाट सेयर खरिद गरी सेटलमेन्ट गरेर दुरुपयोग गरेको देखिएको छ । सुलभ अग्रवाल, दीपक भट्ट लगायत संस्थापक सेयरधनी रहेको पब्लिक लिमिटेड कम्पनीको साथै हिमालयन लाइफ र हिमालयन रि–इन्स्योरेन्स कम्पनीका सहायक कम्पनीहरूको समेत फण्ड दुरुपयोग गरी दीपक भट्ट, सुभी अग्रवाल र ऋषिराज मोर लगायतका व्यक्तिले खरिद गरेको सेयरको राफसाफ भएको धितोपत्र बोर्डको अध्ययनले देखाएको हो ।
साथै भट्ट र सुभी अग्रवालले खरिद गरेकोे सेयरको मूल्य बढाएर हिमालयन रि–इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स र दीपक भट्ट तथा सुलभ अग्रवालको लगानी भएको लघुबिमा कम्पनीमार्फत खरिद गर्दै मूल्य बढाएको बोर्डको निष्कर्ष छ।
व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, भृकुटी स्टक ब्रोकिङ्ग, हिमालयन रिइन्स्योरेन्स, हिमालयन क्यापसर्भ र विभिन्न आधा दर्जन माइक्रो इन्स्योरेन्स कम्पनीहरूको अनलाइन कारोबार प्रणाली एउटै व्यक्तिले चलाउने गरेको प्रतिवेदनमा उललेख छ।। प्रतिबेदन अनुसार बजारमा विभिन्न कम्पनीहरूबीच प्रतिस्पर्धा देखाएर एकै व्यक्तिले मूल्य तोक्ने, माग सिर्जना गर्ने र कारोबार गर्ने गरेको भेटिएको छ ।
सुलभमाथि गरिएको अनुसन्धानमा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष सुलभ अग्रवालले ‘लकइन’ अवधिमा रहेको आफ्नो नामको ८ लाख कित्ताभन्दा बढी सेयर गैरकानूनी रूपमा बेच्न आफ्नै परिवारभित्र अंशबण्डाको नाटक गरेको उजागर भएको छ । धितोपत्र बोर्डको अनुसन्धानअनुसार अग्रवालले आफू अध्यक्ष बहाल रहेको अवस्थामा सेयर बिक्री गर्न नमिल्ने कानूनी प्रावधानलाई छल्न पारिवारिक अंशबण्डाको नाटक गरी ८ लाख कित्ताभन्दा बढी सेयर बिक्री गरेका हुन् ।
यस्तो गैर कानुनी कारोबार गर्नेहरुलाई उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छाले पनि साथ दिएको देखिन्छ। प्रतिबेदनमा शेखर गोल्छालाई कसुर गर्न सहयोग गर्ने व्यक्तिको सूचीमा राखिएको छ । गोल्छा र उल्लिखित कम्पनीबाट आएको रकमबाट ब्रोकरले भट्टलगायत अरूको नाममा सेयर किनेको अनुसन्धानले देखाएको छ । ब्रोकरले गोल्छालाई ५२ करोड ५० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
काठमाडौंमा सुकुम्वासीद्वारा सरकारविरुद्ध प्रदर्शन
४ घण्टा अगाडि