बुधबार, ३१ असार २०८३
बुधबार, २३ वैशाख २०८३ · अर्थ
काठमाडौं, बैशाख २३ । काठमाडौंमा घर बनाएर बस्ने धेरैको सपना हुन्छ । तर महंगीदै गएको उपत्यकाको जग्गा र निर्माण सामग्रीका कारण कैयनलाई घर सपना भन्दा बाहिरको कुरा भएर आएको छ।
जिवनभर काम गरेर पनि केहिले उपत्यकामा घरजग्गा जोड्न सक्दैनन्। उसोभए काठमाडौंमा घर बनाउन मासिक आम्दानी कति हुनुपर्छ त ? कसले बनाउन सक्छ र लागत कति लाग्छ यस बारेमा हामीले खोजेका छौ ।
काठमाडौं उपत्यकामा घर बनाउन कम्तिमा ३ आना जग्गा हुनुपर्छ । रिङरोडभित्र अहिले आनाको नै ६० देखि ६५ लाख पर्छ भने रिङरोडबाहिर तीन किमीभित्र आनाको ३० देखि ३५ लाख पर्छ । रिङरोडबाहिर ५ किमीसम्म टाढा जाँदा २५ देखि ३० लाख रुपैयाँ प्रति आनामा जग्गा पाइन्छ ।
उपत्यकामा नै बस्ने र सस्तो जग्गा खोज्ने हो भने लेले, चाँगुनारायण तथा सुन्दरीजलजस्ता क्षेत्रमा १८ देखि २० लाख आनामा पाइने व्यवसायीहरु बताउँछन् । यसो गर्दा एउटा घर बनाउन जग्गाका लागि ६० लाख र एक तले घर बनाउन ४० देखि ४५ लाख लाग्ने देखिन्छ । सरदर हिसाब गर्दा एक तलाको घर निर्माणका लागि सिमेन्ट ६ लाख, इट्टा ६ लाख, बालुवा २ लाख तथा कामदारको ज्याला ४ लाखलगायत गरी करिब ४५ लाख लाग्ने गर्छ ।
यसरी घर–जग्गाका लागि एक करोड बराबर लाग्दा ४० लाख जति आफूसँग हुनेले बैंकबाट ६५ लाखसम्म निकाल्न सक्छन् । तर, त्यसका लागि ऋणीसँग मासिक ५८ हजार तिर्ने क्षमता हुनुपर्छ । अहिले ७ प्रतिशत ब्याजदरका आधारमा हिसाब गर्दा यस्तो हिसाब निस्किए पनि केही ब्याजदर बढ्दा त्यो पनि थेग्ने क्षमता राख्नुपर्छ ।
जसका लागि परिवारको आम्दानी कम्तिमा १ लाख जति हुनपर्ने देखिन्छ । १ लाखभन्दा तलको मासिक आम्दानी हुने परिवारले सेयरबजार तथा अन्य लगानीका माध्यमबाट रकम कमाउनुपर्ने देखिन्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कुल परिवारमध्ये १२ दशलमव आठ प्रतिशत भाडामा बस्ने गरेका छन् । यसरी राम्रो आम्दानी गर्न नसक्नेहरु कि जिन्दगी भर भाडा त कि खोलाका किनारमा छाप्रो बनाएर बस्नुपर्नेछ ।
निर्माण तथा खरिद लागत के मा कति लाग्छ ?
एक तले घर निर्माणको लागत
सिमेन्ट ः ६ लाख रुपैया
इ“टा ः ६ लाख रुपैया
कामदारको ज्याला ः ४ लाख रुपैया
बालुवा ः २ लाख १७ हजार रुपैया
गिट्टी ः १ लाख ६५ हजार रुपैया
फलामे छड ः ७ लाख ५० हजार रुपैया
वाटरप्रुफः १ लाख रुपैया
चौकोस ः १ लाख ७५ हजार रुपैया
झ्याल ः २ लाख रुपैया
टायलः १ लाख ६० हजार रुपैया
जग खन्न ः ७५ हजार
रङ ः १ लाख ५० हजार
ग्रेनाइट ः १ लाख २० हजार
पाइप तथा धारा (प्लम्बिङ) ः ३ लाख ५० हजार
सटरिङ ः १ लाख
नगरपालिका तथा नक्सा डिजाइन ः १ लाख
गेट ः ४० हजार
इनार ः ५० हजारदेखि १ लाख
अन्य ः १ लाख
ऋण कति ?
एक करोडको घर बनाउन ४० लाख आफैंस“ग रकम हुनुपर्ने
बैंकबाट ऋण ः ६५ लाख
ऋणीसग मासिक ऋण तिर्ने क्षमता ः ५८ हजार
ब्याजदर ः ७ प्रतिशत
जग्गाको मूल्य प्रतिआना कहाँ कति ?
रिङरोडभित्र ः ६० देखि ६५ लाख रुपैया
रिङरोडबाहिर तीन किमिभित्र ः ३० देखि ३५ लाख रुपैया
रिङरोडबाहिर ५ किमिसम्म ः २५ देखि ३० लाख रुपैया
सिंहदरबारबाट १३ देखि १५ किमि टाढा ः १८ देखि २० लाख रुपैया