logo-image

बुधबार, ०९ वैशाख २०८३

नैतिकताको आधारमा पद त्यागेको घोषणा गर्दै गृहमन्त्री सुदन गुरुङले दिए राजीनामा

बुधबार, ०९ वैशाख २०८३ · राजनीति

नैतिकताको आधारमा पद त्यागेको घोषणा गर्दै गृहमन्त्री सुदन गुरुङले दिए राजीनामा

काठमाडौं, वैशाख ९ । केही समयदेखि सेयर बजारको विवादास्पद खरिदबिक्री, अस्वाभाविक सम्पत्ति आर्जन र हाल अनुसन्धानका क्रममा पक्राउ परेका विभिन्न उच्च प्रोफाइलका व्यक्तिहरूसँगको उठबसलाई लिएर चौतर्फी आलोचना र गम्भीर प्रश्नहरू सामना गरिरहेका गृहमन्त्री सुदन गुरुङले अन्ततः आफ्नो पदबाट राजीनामा दिएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नैतिकता र सुशासनका लागि पद त्याग गरेको घोषणा गरेका हुन्।

नागरिक स्तर र विशेष गरी सुशासनको माग गर्दै सडकमा उत्रिएको आन्दोलनले उनीमाथि नैतिक प्रश्न उठाउँदै निरन्तर दबाब दिएपछि बुधबार उनले पद त्यागको घोषणा गरेका हुन्। राजीनामाको घोषणा गर्दै मन्त्री गुरुङले आफू विरुद्ध उठेका प्रश्नहरूको निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्न र पदमा बहाल रहँदा 'स्वार्थको द्वन्द्व' पैदा नहोस् भन्नका लागि यो निर्णय लिएको स्पष्ट पारेका छन्।

४६ जना युवाहरूको रगत र बलिदानीको जगमा उभिएको यो सरकारको गरिमा कायम राख्न पदभन्दा नैतिकता र जनविश्वास नै आफ्नो लागि सर्वोपरि शक्ति रहेको उल्लेख गर्दै उनले सार्वजनिक जीवन स्वच्छ हुनुपर्ने सन्देश दिएका छन्। आफ्नो राजीनामासँगै उनले सञ्चारकर्मी र अन्य सरोकारवालाहरूलाई पनि आत्मशुद्धिको बाटोमा उभिन चुनौती दिँदै रामराज्यको परिकल्पना गर्नेहरूले त्याग र नैतिक साहस देखाउनुपर्ने धारणा राखेका छन्।