logo-image

सोमबार, ०७ वैशाख २०८३

विवादित कम्पनीसँग सेयर देखिएपछि गृहमन्त्री विवादमा, रवि लामिछानेसँग दुई घण्टा संवाद

सोमबार, ०७ वैशाख २०८३ · राजनीति

विवादित कम्पनीसँग सेयर देखिएपछि गृहमन्त्री विवादमा, रवि लामिछानेसँग दुई घण्टा संवाद

काठमाडौं, वैशाख ७ । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेको कम्पनीसँग नाम जोडिएपछि विवादमा तानिनुभएका गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आइतबार राति गोप्य भेटवार्ता भएको छ।

आइतबार सार्वजनिक भएका केही दस्ताबेजहरूका अनुसार व्यवसायी दीपक भट्टसँग जोडिएको 'स्टार माइक्रो इन्स्योरेन्स कम्पनी' मा गृहमन्त्री गुरुङको पनि सेयर रहेको खुलेको छ। व्यवसायी भट्ट हालै वित्तीय अनुसन्धानका क्रममा पक्राउ परेपछि यो विषयले थप चर्चा पाएको हो। गृहमन्त्रीकै नाम यस्तो संवेदनशील कम्पनीसँग जोडिएपछि रास्वपाभित्रैबाट उहाँको राजीनामाको माग उठ्न थालेको छ। उहाँ पदमा रहिरहँदा जारी अनुसन्धान प्रभावित हुन सक्ने भन्दै पार्टीभित्र दबाब बढेको हो।

स्रोतका अनुसार गृहमन्त्री गुरुङ आइतबार राति करिब ८ बजे लामिछानेको बुढानीलकण्ठस्थित निवास पुग्नुभएको थियो। झन्डै दुई घण्टा चलेको उक्त भेटमा अन्य कुनै पनि नेता वा परिवारका सदस्य सहभागी थिएनन्। सो क्रममा मन्त्री गुरुङले आफूमाथि लागेको आरोपबारे स्पष्टीकरण दिँदै पार्टीभित्रको दबाब मत्थर पार्न आग्रह गर्नुभएको बताइएको छ। सुरक्षा स्रोतका अनुसार भेटका क्रममा गृहमन्त्री गुरुङले प्रधानमन्त्री बालेन शाह र सभापति लामिछानेबीच टेलिफोन संवाद समेत गराई वर्तमान राजनीतिक स्थिति र अनुसन्धानबारे ब्रिफिङ गर्नुभएको थियो।

भेटको अन्त्यमा सभापति लामिछानेले भने गुरुङलाई सोमबार बस्ने पार्टीको बैठकमा आफ्नो धारणा औपचारिक रूपमा राख्न सुझाव दिनुभएको छ। पार्टी बैठकले नै यस विषयमा ठोस निर्णय लिने लामिछानेको सङ्केत छ।

ताजा समाचार