शुक्रबार, १९ भदौ २०८३
शुक्रबार, २० चैत २०८२ · राजनीति
काठमाडौं, चैत्र २० । गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक अनुगमन गर्दै यात्रुहरूलाई झन्झटमुक्त सेवा सुनिश्चित गर्न कडा निर्देशन दिनुभएको छ। विमानस्थलमा सर्वसाधारणले बारम्बार सास्ती खेप्नुपरेको र सेवा प्रवाहमा ढिलासुस्ती भएको व्यापक गुनासो आएपछि उहाँ बिहीबार साँझ आफ्नो टोलीसहित स्थलगत निरीक्षणमा पुग्नुभएको हो।
अनुगमनका क्रममा मन्त्री गुरुङले विशेषगरी विदेशमा कडा परिश्रम गरेर फर्किएका नेपाली नागरिकहरूले विमानस्थलमा कुनै पनि किसिमको सास्ती वा असुविधा भोग्न नपर्ने कुरामा जोड दिनुभयो। उहाँले लामो समयदेखि कायम रहेका समस्याहरूको स्थायी समाधान खोज्न र सेवालाई पूर्ण रूपमा गुनासोमुक्त बनाउन कर्मचारीहरूलाई निर्देशन दिनुभयो।
मन्त्रीको सचिवालयका अनुसार, सुधारका प्रयासहरू प्रभावकारी नभए र सार्वजनिक गुनासाहरू कायमै रहेमा जिम्मेवार अधिकारीहरूमाथि कडा कारबाही गरिने चेतावनी समेत उहाँले दिनुभएको छ। विमानस्थलको अस्तव्यस्तता हटाउन र नागरिकलाई राज्यको उपस्थिति महसुस गराउन मन्त्री आफैँ मैदानमा उत्रिनुभएको बताइएको छ।