बिहिबार, ०३ वैशाख २०८३
सोमबार, १६ चैत २०८२ · राजनीति
काठमाडौं, चैत १६ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले सिंहदरबारमा बोलाएको बैठकलाई 'कोठे बैठक' को संज्ञा दिँदै बहिष्कार गर्ने घोषणा गर्नुभएको छ।
प्रधानमन्त्रीले कोशी प्रदेशका सांसदहरूलाई छलफलका लागि बोलाए पनि साम्पाङले सदन छलेर गरिने यस्ता छलफलको औचित्य नभएको बताउनुभएको हो।
उहाँले जनताका जल्दाबल्दा समस्यामा छलफल गर्न कम्तीमा हप्ताको एक पटक अनिवार्य रूपमा सदनको बैठक बस्नुपर्ने माग समेत राख्नुभएको छ। प्रधानमन्त्री र सरकार जनताका प्रश्नहरूबाट भाग्न खोजेको आरोप लगाउँदै साम्पाङले सामाजिक सञ्जालमा लेख्नुभएको छ-
“प्रधानमन्त्रीले सदनको बैठक बोलाउनतिर पहल नगरी कोठे बैठक बोलाउनुको कारण थाहा भएन। हामी कोठे बैठकमा आउँदैनौँ। सदनको बैठक नियमित रूपमा राखिनुपर्छ, हप्तामा कम्तीमा एकपटक। जनताको प्रश्नहरूबाट भाग्न पाइँदैन। सबै प्रश्नको उत्तर दिनैपर्छ। जय लोकतन्त्र।”