logo-image

बुधबार, १३ जेठ २०८३

कि प्रधानमन्त्रीलाई सदनमा बोलाउनुस्, कि मलाई निष्कासन गर्नुस्: हर्कराज राई

बुधबार, १३ जेठ २०८३ · राजनीति

कि प्रधानमन्त्रीलाई सदनमा बोलाउनुस्, कि मलाई निष्कासन गर्नुस्: हर्कराज राई

काठमाडौं, जेठ १३ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग जोडदार माग गर्नुभएको छ । 

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै अध्यक्ष राईले नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम प्रधानमन्त्रीको उपस्थिति सुनिश्चित गर्न सभामुखलाई आग्रह गर्नुभएको हो । सभामुखलाई सम्बोधन गर्दै राईले लामो समयदेखि आफूहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै आए पनि सभामुखबाट प्रभावकारी ‘रुलिङ’ हुन नसकेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले सदनको गरिमा कायम राख्नका लागि प्रधानमन्त्रीलाई सदनमा ल्याउनुपर्ने, अन्यथा नियमावलीको नियम ३१ को उपनियम (१) प्रयोग गरी आफूलाई सदनबाट निष्कासन गर्न चुनौती दिनुभयो । 

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूलाई सदनमा जवाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने नियमावलीको ३१ (१) लागू गरेर मलाई यो सदनबाट निष्कासन गरी सदनको गरिमा बढाइदिनुहुन म अनुरोध गर्दछु । कि त प्रधानमन्त्रीज्यूलाई यहाँ बोलाइदिनु पर्यो, होइन भने मलाई निस्केर जा भन्नुप¥यो ।’

राईले सभामुखको कार्यगत बाध्यता र परिस्थितिप्रति आफू जानकार रहेको भएपनि नियमको पालना नहुँदा सदनको मर्यादामा आँच पुगेको टिप्पणी गर्नुभयो ।