logo-image

बुधबार, १७ भदौ २०८३

सरकारले व्यवस्थापिकाको अधिकार क्षेत्र अतिक्रमण गर्न खोज्योः एमाले नेता बादल

बुधबार, १६ वैशाख २०८३ · राजनीति

सरकारले व्यवस्थापिकाको अधिकार क्षेत्र अतिक्रमण गर्न खोज्योः एमाले नेता बादल
नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा (बादल) ले अध्यादेशमार्फत ऐन बनाउन खोज्ने सरकारको कदम संसदीय प्रणालीमाथिको हस्तक्षेप भएको टिप्पणी गर्नुभएको छ । 
 
बुधवार विपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संविधानले संसद नबसेको अवस्थामा अध्यादेश सिफारिस गर्नसक्ने व्यवस्था भएपनि अहिलेको परिस्थिति त्यसभन्दा भिन्न रहेको स्पष्ट पार्नुभयो । आह्वान गरिसकेको संसद स्थगित गरेर अध्यादेश जारी गर्नु अलोकतान्त्रिक, असंवैधानिक र असंसदीय कदम उहाँको भनाइ छ । उहाँले विगतका सरकारहरूले संसद अधिवेशन नरहेको अवस्थामा मात्रै अध्यादेश ल्याएको उल्लेख गर्दै अहिले भने सदनलाई स्थगित गरेर अध्यादेश जारी गर्न खोजिएको उहाँको आरोप छ । 
 
उहाँले भन्नुभयो, ‘अध्यादेश ल्याउन पाइन्छ । विगतका सरकारहरुले पनि संसद नबसेको अवस्थामा अध्यादेशको लागि सिफारिस गर्न पाउँथ्यो । किनभने हाम्रो संविधान र ऐनमा त्यो व्यवस्था गरिएको छ । विगतका सरकारले त्यसरी गर्नुभएको हो । यो त त्योभन्दा भिन्न मात्र होइन उल्टो छ । सदनलाई स्थगित गरेर अध्यादेश जारी गरिएको छ । सदनको मुख्य भुमिका भनेकै ऐन निर्माण गर्ने हो । सरकारले ऐन कानून बनाउने होइन । सरकारले त ती ऐन र कानूनहरुको कार्यान्वयन गर्ने हो । त्यसकारण सरकारले जुन काम गरिरहेको छ यो व्यवस्थापिकाको अधिकार क्षेत्रको अतिक्रमण गरेर जसरी ऐन बनाउन खोज्दैछ यो अलोकतान्त्रिक, असंवैधानिक र असंसदीय छ ।’
 
थापाले संसदको मुख्य भुमिका ऐन निर्माण गर्नुभएको र सरकारको जिम्मेवारी ती ऐन–कानून कार्यान्वयन गर्नु रहेको स्मरण गराउँदै अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजे विपक्षी दलहरू एकजुट भएर प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।