आइतबार, १७ जेठ २०८३
आइतबार, १७ जेठ २०८३ · राजनीति
काठमाडौं, जेठ १७ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभएको छ ।
आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले उक्त माग गर्नुभएको हो । त्यसैगरी उहाँले जेनजी आयोगको प्रतिवेदन औपचारिक रुपमा सार्वजनिक गरी सबै सांसदहरुलाई उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २४ गतेको घटनालाई बेवास्ता गरेको प्रतिवेदन ल्याएको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।
नेता केसीले भन्नुभयो,‘२३, २४ को जेन्जी आन्दोलनपछिको गौरी बहादुर कार्कीको जुन प्रतिवेदन छ । त्यो औपचारिक रुपमा प्रकाशित हुन सकेको छैन । त्यो औपचारिक रुपमा प्रकाशित हुनु पर्दछ । र, सांसदका प्रत्येक सदस्यले हातहातमा पाउनुपर्दछ । २४ गतेलाई कार्कीजीको प्रतिवेदनले ब्ल्याकआउट नै गरेको हामीले बुझेका छौँ । २४ गते देशमा जुन खालको विध्वंशात्मक घटना घटयो । त्यो घटनाको छानविनका लागि निष्पक्ष तत्कालै आयोग बनाउनुपर्दछ । राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजानु पर्दछ ।’
नेता केसीले सरकारले जेन–जी आन्दोलनको घटनाको छानविनको विषयलाई गम्भिरतपूर्वक लिनुपर्ने पनि बताउनु भयो ।–न्युज एजेन्सी नेपाल