logo-image

बिहिबार, ०३ वैशाख २०८३

प्रतिशोधको राजनीतिले देश बन्दैन, सरकारले अहंकार त्यागोस्ः कृष्णप्रसाद सिटौला

बिहिबार, १९ चैत २०८२ · राजनीति

प्रतिशोधको राजनीतिले देश बन्दैन, सरकारले अहंकार त्यागोस्ः कृष्णप्रसाद सिटौला

काठमाडौं, चैत्र १९ ।  नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद सिटौलाले सरकारलाई प्रतिशोधको राजनीति त्यागेर राष्ट्रिय सहमति र एकताको बाटोमा हिँड्न आग्रह गर्नुभएको छ । राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै नेता सिटौलाले सरकारको पहिलो मन्त्रिपरिषद् बैठकको निर्णय र कार्यशैलीप्रति आश्चर्य प्रकट गर्दै ‘ड्यू प्रोसेस अफ ल’ (कानुनी प्रक्रिया) पालना गर्न सुझाव दिनुभएको हो ।

नयाँ सरकार गठनपछिको राजनीतिक परिस्थितिलाई सम्बोधन गर्दै सिटौलाले सरकारलाई रचनात्मक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले जनताको आकांक्षा पूरा गर्न सरकारले संविधानको मर्मअनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो । नेता सिटौलाले वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गरेको कतिपय निर्णयप्रति आपत्ति जनाउनु भयो । कुनै आयोगको प्रतिवेदन सार्वजनिक नगरी वा संसद्मा पेश नगरी हतारोमा पक्राउ गर्ने र कार्यान्वयन गर्ने शैलीले कानूनी राज्यको उपहास गरेको उहाँको तर्क छ ।

काँग्रेसको इतिहास स्मरण गर्दै सिटौलाले आफूहरू बदलाको राजनीतिमा विश्वास नगर्ने स्पष्ट पार्नुभयो । सिटौलाले विगतमा बहुमत र झण्डै दुई–तिहाइ पाएका सरकारहरू पनि टिक्न नसकेको इतिहास स्मरण गराउँदै सरकारलाई अहंकार नगर्न चेतावनी दिनुभयो । शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन, बेरोजगारी समस्या समाधान गर्न र विश्व राजनीतिमा आएको परिवर्तनका कारण विदेशमा रहेका नेपालीहरूले भोग्नुपरेको समस्या सम्बोधन गर्न राष्ट्रिय एकता आवश्यक रहेको उहाँले बताउनु भयो । रुस–युक्रेन युद्ध र खाडी मुलुकको तनावका बीच नेपालीहरूको सुरक्षाका लागि सबै दल एक ठाउँमा उभिनुपर्ने उहाँको भनाइ थियो । 

उहाँले भन्नुभयो, ‘राम्रो काम आए समर्थन गर्ने र नराम्रो काम आए विरोध गर्ने हाम्रो परम्परा छ । तर म चाहन्छु—सरकारले सधैँ राम्रो काम गरोस् ताकि हामीले सधैँ समर्थन मात्रै गर्न पाइयोस्, विरोध गर्ने अवस्थै नआओस् । स्वयं मन्त्रिपरिषद्ले नै फलानोलाई पक्राउ गर भन्नु उचित होइन । यसले ड्यू प्रोसेस अफ ल लाई फलो गर्न सकेन ।’

उहाँले बेचन झा र प्रतीक थापाहरूले छिट्टै न्याय पाउनुपर्ने र जनताले न्याय भएको देख्न पाउनुपर्ने बताउनु भयो । 

–न्युज एजेन्सी नेपाल