logo-image

मङ्गलबार, १२ जेठ २०८३

संविधान संशोधनका लागि सरकारले पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा शक्तिशाली आयोग गठन गर्नुपर्छः काँग्रेस

मङ्गलबार, १२ जेठ २०८३ · राजनीति

संविधान संशोधनका लागि सरकारले पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा शक्तिशाली आयोग गठन गर्नुपर्छः काँग्रेस

काठमाडौं, जेठ १२ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा शक्तिशाली सर्वपक्षीय आयोग गठन गर्न सरकारसँग माग गरेको छ । 

मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले सो माग गर्नुभएको हो । उहाँले सत्ता वरीपरीको बहसले मात्रै संविधान संशोधनको विषय मान्य नहुने स्पष्ट पार्दै विज्ञहरुसहित सम्मिलित पूर्वप्रधानन्यायाधीश नेतृत्वको शक्तिशाली आयोग गठन गरी राष्ट्रिय सम्वादका लागि गोलमेच सम्मेलन गर्नु अतिआवश्यक भईसकेको जिकिर गर्नुभयो । नेता केसीले संविधान संशोधनको बहस सरकारी कार्य दलमा मात्रै सीमित गर्न नहुने पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘संविधान संशोधनको बहस सरकारी कार्य दलमा मात्रै सीमित रहनु हुँदैन । यसका लागि पूर्व प्रधानन्यायाधीशको संयोजनमा संविधानविद, राजनीतिक दल, प्रशासनिक विज्ञ, र नागरिक समाजका प्रतिनिधिहरु समावेश शक्तिशाली सर्वपक्षीय आयोग गठन गर्नु जरुरी छ । उक्त आयोगमार्फत राष्ट्रिय संवादका लागि गोलमेच सम्मेलन गर्नु अति आवश्यक भईसकेको छ। राष्ट्रिय जटिलता, द्वन्द्व र सामाजिक धु्रवीकरणको सत्तावरीपरीको बहसले मात्रै संविधान संशोधन सफल हुँदैन । वृहत राष्ट्रिय सम्वादबाट मात्रै यसले वैधता, जनविश्वास र साझा राष्ट्रिय सहमती निर्माण गर्न सक्छ ।’

नेता केसीले संविधानलाई सबैको साझा दस्तावेज बनाउन पनि त्यसको बहसलाई राष्ट्रिय बहसको रुपमा अघि बढाउने काम गर्नुपर्नेमा जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल

ताजा समाचार