logo-image

बुधबार, २७ साउन २०८३

चुनावी परिणाम र युवा नेतृत्वको क्याबिनेटले मात्रै सपना पूरा हुँदैन, सरकारले काम गर्नुपर्छः सभापति लामिछाने

बुधबार, २७ साउन २०८३ · राजनीति

चुनावी परिणाम र युवा नेतृत्वको क्याबिनेटले मात्रै सपना पूरा हुँदैन, सरकारले काम गर्नुपर्छः सभापति लामिछाने


काठमाडौं, साउन २७ । सत्तारुढ दल  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावी परिणाम र युवा नेतृत्वको मन्त्रिपरिषद्ले मात्रै मुलुकको वर्षौंदेखिको सपना पूरा नहने भन्दै त्यसका लागि सरकारले परिणाममुखी काम गर्नुपर्ने बताउनुभएको छ । 
बुधवार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बोल्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो । उहाँले सरकार गठन भएको चार महिना बित्दा समेत सडकको आवाज कम नहुँदा सरकारलाई परिणाम दिनुपर्ने चुनौती थपिएको समेत बताउनु भयो । यद्यपि समाजमा धैर्यताको कमी हुँदै गएको कारण तत्काल परिणाम खोज्ने प्रवृत्तिले छिट्टै निराश हुने अवस्था सिर्जना गरेको उहाँको भनाइ छ । लामिछानेले माइतीघरमा अझै पनि भीड देखिएको उल्लेख गर्दै यस्तो अवस्था निराशाको कारण हो वा नागरिक बानी परिसकेका हुन् ? भन्ने कुरा छुट्याउन कठिन भएको तर्क समेत गर्नुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा उमेर समूहको मात्र नभई युवा पुस्ताको विचारको प्रतिनिधित्व होस् भन्ने कुरामा सचेत रहेको पनि बताउनुभयो । उहाँले नागरिकमा छिटो पवरिणाम खोज्ने परिपाटी कायम रह्यो भने विकल्प खोज्नुको विकल्प नरहने समेत बताउनुभयो । आफूहरु विकल्पन खोज्न नभई विकल्पन बन्न भएको समेत उहाँको दाबी छ ।
उहाँले भन्नुभयो, ‘अहिले नेतृत्वमा युवाहरु हुनुहुन्छ, युवा गतिविधि बढेका छन् । तर आवाज त्यति धेरै घटेको हामी सुन्दैनौँ । कनकी यसलाई परिणाममा बल्दने चुनौती हामीसँग छ । चुनावको नतिजाले मात्रै, पार्लियामेन्टको संख्याले मात्रै र क्याबिनेटको युवा नेतृत्वले मात्र हामीले वषौदेखि देखेको सपना पूरा हुँदैन, त्यसका लागि हामीले काम गर्नुपर्ने हुन्छ । एउटा कुरा सत्य हो की अहलिे संसारभरी धैर्यताको कमी छ । हामी सायद यस्तै समाजमा हुर्किएका छौँ कि हामीमा पनि धैर्यताको कमी चाँही देखिएको छ । हामीलाई लामा कुराहरु पढ्ने, लामा कुराहरु सुन्ने, अलिकति समय लिएर व्याख्या गरिएका कुराहरुमा अलिकति चासो दिने, त्यो स्वभाव घट्दै गएको कारणले गर्दा खेरि पनि हामीलाई परिणाम अत्यन्त छिटो चाहिएको छ । छिटो परिणाम खोज्दा छिट्टै निराश भइने समाजमा पो हामी छौँ कि भन्ने मलाई लाग्छ । किनभने हामी चार महिनादेखि सरकारको नेतृत्व गरिरहेका छौँ तर आवाजहरु उस्तै देखिन्छन् । म माइतीघरमा अझै पनि भिडभाड देखिरहेको छु । आशा मरेर हो कि बानी परेर हो ? मैले छुट्याउन सक्या छैन । बानी परेको पो हो कि भन्ने कुराले चिन्ता लागेको छ । यदि हामीले निराश हुने बानी पारेका हौँ भने त कसैले पनि हामीलाई तृप्त गर्न सक्दैन । कसले तृप्त पार्ने हो र ? चार महिनाको अवधिमा देशमा उस्तै आवाज अझ ठूलो आवाज भएन र सकिएन भन्ने आवाज आउन थाल्दा खेरि त कसरी सकिएला र ?’
उहाँले बिना अनुभवको राजनीतिले केही हुनसक्दैन भन्ने भाष्य सिर्जना भएको भन्दै उहाँले उक्त भाष्यले मुलुकको हित हुन नसक्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल