logo-image

शुक्रबार, ११ वैशाख २०८३

सरकारको घाटा चुलिदो, प्रशासनिक खर्च बढ्दो

शुक्रबार, ११ वैशाख २०८३ · अर्थ

सरकारको घाटा चुलिदो, प्रशासनिक खर्च बढ्दो


काठमाडौं, बैशाख ११ । सरकारको खर्च १ खर्ब ५८ अर्ब पुगेको छ । चालु आर्थिक वर्षको बैशाख १० गतेसम्म सरकारले ९ खर्ब ३१ अर्ब आम्दानी गरेकामा १० खर्ब ८९ अर्ब खर्च गरेको छ । यसरी आम्दानी भन्दा बढि खर्च भएका कारण १ खर्ब ५८ अर्ब घाटा ब्यहोर्नुपरेको हो । 
सरकारको चालु खर्च बढेको तर, सोहि अनुपातमा राजस्व बढ्न नसकेका कारण घाटा चुलिएको हो । गत वर्षको यहि अवधिमा १ खर्ब ५६ अर्ब घाटा रहेको थियो । अर्थात गत वर्षको बैशाख १० गतेसम्म १० खर्ब ३४ आम्दानी गरेकामा ८ खर्ब ७८ अर्ब खर्च भएको थियो । 
गत  वर्ष बैशाख ७ सम्म ७ खर्ब बराबरको चालु खर्च भएको थियो । तर, यो वर्षको सोहि अवधिमा भने कर्मचारी तथा प्रशासनिक खर्च ७ खर्ब ७१ अर्ब पुगेको थियो । अर्थात प्रशासनिक खर्च ७१ अर्बले बढेको छ । 
चालु खर्च बढ्नुको मूख्य कारण हरेक वर्ष तलब, भत्ता, पेन्सन बढ्दै जानु  हो । कर्मचारी संख्या घट्नेभन्दा बढ्ने प्रवृत्ति भएकाले दीर्घकालीन खर्च बढिरहेको छ ।  साथै ज्येष्ठ नागरिक भत्ता, सामाजिक सुरक्षा कार्यक्रम, र अवकाशप्राप्त कर्मचारीको पेन्सनमा निरन्तर वृद्धि भइरहेकाले पनि चालु खर्च बढेको छ । यसबाहेक संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार सञ्चालन गर्दा प्रशासनिक संरचना, कर्मचारी, कार्यालय, र सुविधा व्यवस्थापनमा ठूलो खर्च लागिरहेकाले पनि खर्च बढि रहेको छ । 
अर्थविद् डिल्लीराज खनाल फजुल खर्च, दोहोरो संरचना, र कमजोर खर्च व्यवस्थापनका कारण पनि चालु खर्च बढिरहेको बताउनुहुन्छ। चालु खर्च निरन्तर बढिरहदा विकासका लागि उपलब्ध स्रोत घटेको छ। जसका कारण सरकार बिकास र त्यसको ऋणको सावा तथा भुक्तानीका लागि समेत ऋणमा नै भरपर्नुपर्ने स्थिती देखिएको छ ।