सोमबार, ०८ भदौ २०८३
सोमबार, ०८ भदौ २०८३ · राजनीति
काठमाडौं, भदौ ८ । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाबारे सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसदहरुले दोषिमाथि हदैसम्मको कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । बैठकमा बोल्दै नेपाली काँग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदारले सरकारले बालिकाको परिवारसँग गरेको सहमतिप्रति आपत्ति जनाउनु भयो । उहाँले बालिकाको जीवन सालिक ठड्याएर फिर्ता नआउने भन्दै यस्ता घटनामा राहत र सहमतिपत्रभन्दा कानूनको प्रभावकारी कार्यान्वयन जरुरी रहेको बताउनु भयो । उहाँले सहमतिपत्रले तत्काल आन्दोलन रोक्न र राहतले क्षणिक पीडा कम गर्न सक्ने भएपनि त्यसले दीर्घकालीन न्यायको अनुभूति तथा राज्यप्रतिको विश्वास पुनःस्थापित गर्न नसक्नेतर्फ सरकार सचेत हुनुपर्ने बताउनु भयो । साथै उहाँले जघन्य अपराधका घटनामा मिलापत्र गराउने मतियारलाई हदैसम्मको कारबाही गर्न समेत सरकारसँग माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘म सरकारलाई सोध्न चाहान्छु, एउटा सालिक ठड्याएर ३ वर्षीया बालिकाको जीवन फिर्ता आउँछ ? सभामुख महोदय, सहमतिपत्रले तत्काल आन्दोलन रोक्न सक्ला, राहतले क्षणिक पीडा कम गर्न सक्ला तर यसले दीर्घकालीन न्यायको अनुभूति र राज्यप्रतिको विश्वास पुनः स्थापित गर्न सक्दैन । सडक तात्नेबित्तिकै मन्त्रीज्यूहरु आफैं जुर्मुराउने र स्थानीय प्रशासनलाई निकम्मा बनाउने शैलीले स्थानीय सरकार र स्थानीय प्रशासनमाथिको जनविश्वास निरन्तर घटिरहेको छ । र गलत नजिर बसिरहेको छ । सहमतिको बुँदाले नभई कानूनको कार्यान्वयनले राज्यको विश्वसनीयता बढ्छ । त्यसकारण जघन्य अपराधका घटनालाई मिलापत्र गराउने मतियारलाई हदैसम्मको कारबाही होस् ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद श्रद्धा कुँवर क्षेत्रीले सबै नागरिकले मुलुकमा सम्मानजनक रुपमा बाँच्न पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले दोषिलाई कारबाही गर्ने कुरामा संविधानका अक्षर मात्र हेरेर नहुने भन्दै अपराधको प्रकृति र गम्भीरताका आधारमा कारबाही गर्नुपर्ने बताउनु भयो । उहाँले पकेटमार र बलात्कारीलाई एउटै कोठामा राखेर सजाय दिन नमिल्ने भन्दै बलात्कारी र जघन्य महिला हिंसाका अपराधीलाई बलियो कानूनी कारबाहीको व्यवस्था गरिनुपर्ने बताउनु भयो ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद बलावती शर्माले गरिमा चौधरीको बलात्कारपछि हत्या र खुशी खातुनको हत्याको घटनाले सिंगो राज्यलाई लज्जित बनाएको बताउनु भयो । उहाँले यस घटनाले सरकारलाई समेत गम्भीर आशंका र प्रश्नको घेरामा उभ्याएको बताउनु भयो । उहाँले छोरीहरु आफ्नै घर आँगनमा समेत असुरक्षित बन्नुपर्ने, पीडित परिवारले न्यायको याचना गर्दै सडकमा आन्दोलन गर्नुपर्ने विडम्बनापूर्ण स्थिति सिर्जना भएको भन्दै चिन्ता समेत व्यक्त गर्नुभयो । उहाँले गरिमालाई न्याय दिन तथा परिवारलाई उचित क्षतिपूर्ति तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।
बैठकमा बोल्ने अधिकांश सांसदहरुले गरिमा चौधरीको बलात्कारपछि हत्यामा संलग्न दोषिहरुलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् । उनीहरुले महिलामाथि हुने कुनैपनि प्रकारको हिंसा रोकी सम्मानसाथ बाँच्न पाउने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण समेत गराए ।–न्युज एजेन्सी नेपाल