आइतबार, २४ साउन २०८३
आइतबार, २४ साउन २०८३ · समसामयिक
कपिलवस्तु, साउन २४ । शुक्रबारदेखि जङ्गलमा सम्पर्कविहीन रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली काङ्ग्रेसका नेता किरण सिंह मृत अवस्थामा भेटिएका छन्। ६८ वर्षीय सिंहको शव आइतबार तिलौराकोट सामुदायिक जङ्गलको बीच भागमा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख (एसपी) मनोहरप्रसाद भट्टका अनुसार शुक्रबारदेखि जारी निरन्तर खोजीका क्रममा आइतबार जङ्गलको भित्री भागमा सिंहको शव फेला परेको हो।
शुक्रबार बिहान तौलिहवास्थित आफ्नै निवासबाट निर्माणाधीन कृषि फार्म निरीक्षणका लागि निस्किएका सिंह दिउँसो करिब ३:१५ बजे रामराज पुल नजिकैको सीसीटीभी फुटेजमा देखिएका थिए। त्यसपछि उनले साझेदारलाई फोन गरी जङ्गलमा बाटो बिराएको बताएका थिए। साँझ व्यावसायिक साझेदारसँगको ११ सेकेन्डको फोन संवादमा आत्तिँदै "मलाई बचाइहाल, बचाइहाल" भनेलगत्तै उनीसँगको सम्पर्क विच्छेद भएको थियो।
घटनाको खबर पाउनासाथ खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गबाट करिब ८ किलोमिटर भित्र गोरुसिङ्गे जङ्गलमा उनले प्रयोग गर्ने लु.प्र. ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारेको थियो। उच्च रक्तचाप (प्रेसर) र दमको समस्याका कारण धेरै हिँड्न नसक्ने अवस्थामा रहेका सिंहलाई खोज्न नेपाल प्रहरी, स्थानीयवासी र तालिमप्राप्त स्निफर डग (कुकुर) परिचालन गरिएको थियो।
नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित भई पाँच वर्ष नगर प्रमुख चलाएका सिंह घरमा श्रीमतीसँग बस्दै आएका थिए भने उनका दुई छोरामध्ये एक जना जापान र अर्का भारतमा छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।