आइतबार, २४ साउन २०८३
आइतबार, २४ साउन २०८३ · समसामयिक
काठमाडौं, साउन २४ । भन्सार एजेन्ट महासंघ नेपालले कानूनबमोजिमको भन्सार जाँचपास प्रणाली कार्यान्वयनमा पूर्ण प्रतिबद्धता जनाएको छ । भन्सार विभागले हालै जारी गरेको परिपत्रको स्वागत गर्दै महासंघले नियुक्तिपत्र प्राप्त इजाजतप्राप्त भन्सार जाँचपास प्रतिनिधिमार्फत मात्रै जाँचपास प्रक्रिया सञ्चालन हुनुपर्नेमा जोड दिएको छ ।
महासंघले अनधिकृत व्यक्तिको संलग्नता, इजाजतपत्रको दुरुपयोग तथा गैरकानुनी अभ्यासको आफूले विरोध गर्ने स्पष्ट पारेको छ । विभागको निर्देशनले भन्सार जाँचपासमा पारदर्शिता, उत्तरदायित्व र सुशासन कायम गर्न सहयोग पुग्ने महासंघको भनाइ छ । महासंघले कानून कार्यान्वयनका क्रममा देखिने व्यवहारिक तथा संरचनागत कठिनाइलाई तथ्य र अनुभवका आधारमा सरकार तथा भन्सार विभागसँग संस्थागत संवादमार्फत समाधान खोज्ने जनाएको छ ।
राजस्व सुरक्षा, वैध व्यापार सहजीकरण र आधुनिक तथा उत्तरदायी भन्सार प्रशासन निर्माणमा सरकारलाई आवश्यक सहयोग गर्न महासंघ प्रतिबद्ध रहेको जनाएको छ ।