शुक्रबार, २२ जेठ २०८३
शुक्रबार, २२ जेठ २०८३ · राजनीति
काठमाडौं, जेठ २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको नयाँ सरकार गठन भएपछिको पहिलो उच्चस्तरीय वैदेशिक भ्रमणका लागि परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गरेका छन्। भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री खनाल आज औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका हुन्।
नयाँ दिल्ली उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खनालले यो भ्रमण नयाँ सरकारको पहिलो उच्चस्तरीय कूटनीतिक सुरुवात भएको बताए। भ्रमणका क्रममा भारतीय समकक्षी डा. जयशङ्कर लगायतका उच्च अधिकारीहरूसँग भेटवार्ता हुने र संवादमा नेपालका प्रमुख राष्ट्रिय प्राथमिकता, आपसी हित तथा द्विपक्षीय सम्बन्धका विविध आयाममा केन्द्रित रहेर छलफल हुने मन्त्री खनालले जानकारी दिए।