बुधबार, ३१ असार २०८३
बिहिबार, १२ चैत २०८२ · मनोरञ्जन
काठमाडौं, चैत्र १२ । बाँसुरी वादन र निर्माणमा रुचि राख्नेहरूका लागि भक्तपुरमा एक विशेष ’बाँसुरी बनाउने कार्यशाला’ आयोजना हुने भएको छ ।
'हङ्ग्री म्युजिसियन टेरेस' र 'साउन्डबज अडियो ल्याब' को सहकार्यमा चैत १७ गते मंगलबार यो कार्यशाला हुन लागेको हो । भक्तपुरको सुकुलढोकास्थित साउन्डबज अडियो ल्याबमा दिउँसो १ः०० बजेदेखि सुरु हुने यस कार्यशालामा सहभागीहरूलाई बाँसुरी बनाउने विभिन्न विधि र सैद्धान्तिक ज्ञान प्रदान गरिनेछ ।
यस कार्यशालाको मुख्य प्रशिक्षकका रूपमा चर्चित नेपाली बहु–वाद्यवादक अमन माली रहने छन् । शास्त्रीय, लोक र ज्याज फ्युजन संगीतमा दखल राख्ने माली 'द ख्वप ब्यान्ड' र कुमा सागरसँगको सहकार्यका लागि परिचित रहेका छन् । उनी परम्परागत संगीतलाई समकालीन धुनहरूसँग मिलाउन सिपालु मानिन्छन ।
आयोजकका अनुसार कार्यशालामा सहभागी हुन प्रति व्यक्ति १,५००/– रुपैयाँ पञ्जीकरण शुल्क तोकिएको छ । कार्यक्रमबारे थप जानकारी वा नाम दर्ताका लागि ९८४३३१७७५८ मा सम्पर्क गर्न सकिनेछ ।
कार्यशालाका मुख्य आकर्षणहरूः
बाँसुरी निर्माणः बाँस र पीभीसी पाइपको प्रयोग गरेर बाँसुरी बनाउने तरिका ।
ट्युनिङ (स्वर–मिलाप): बाँसुरीको स्वर शुद्ध बनाउने अवधारणा ।
सैद्धान्तिक ज्ञानः हावाबाट बज्ने वाद्ययन्त्रका आधारभूत सिद्धान्तहरूको जानकारी ।