logo-image

बुधबार, १४ असोज २०८३

बाढीले ढाल्यो महाकालीको प्रसिद्ध दोधारा-चाँदनी झोलुङ्गे पुलको पिलर, आवागमन पूर्ण रूपमा ठप्प

बुधबार, १४ असोज २०८३ · समसामयिक

बाढीले ढाल्यो महाकालीको प्रसिद्ध दोधारा-चाँदनी झोलुङ्गे पुलको पिलर, आवागमन पूर्ण रूपमा ठप्प

 

कञ्चनपुर, असोज १४ ।  कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा-चाँदनी नगरपालिका जोड्ने महाकाली नदीमाथिको बहुचर्चित झोलुङ्गे पुल बाढीका कारण क्षतिग्रस्त भएको छ।

महाकाली नदीमा आएको तीव्र बाढीका कारण बीच भागमा रहेको पिलर ढलेपछि आज बिहान करिब ८ बजे पुलको लट्ठा चुँडिएको हो। प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौँ नम्बर र दोधारा-चाँदनीतर्फबाट तेस्रो नम्बरमा रहेको पिलर बाढीको बहावले ढालेको छ। पिलर भत्किँदै पुलको केही भाग नदीमा खसेर बगेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

विसं २०६१ मा निर्माण सम्पन्न भएको १४५८ मिटर लामो यो पुल नेपालका साथै एसियाकै लामा र सुन्दर झोलुङ्गे पुलहरूमध्ये एक मानिन्छ। पुल क्षतिग्रस्त भएपछि सो क्षेत्र भएर हुने दैनिक आवतजावत पूर्ण रूपमा ठप्प भएको छ।

घटनालगत्तै प्राविधिक टोली पठाएर क्षतिको विस्तृत अध्ययन गर्ने तयारी भइरहेको छ। स्थानीय प्रशासनले सो क्षेत्रमा जोखिम बढेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन र पुल आसपास नजान आग्रह गरेको छ।