बिहिबार, १४ जेठ २०८३
बिहिबार, १४ जेठ २०८३ · मनोरञ्जन
काठमाडौं, जेठ १४ । मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को फर्स्ट लुक भिडियो सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । फर्स्ट लुकमार्फत चलचित्रको प्रदर्शन मिति यही वर्षको तिहारलाई तय गरिएको हो । सार्वजनिक सामग्रीहरूले चलचित्रप्रति दर्शकको कौतूहलता तीव्र बनाएको छ, जसमा अभिनेता विजय बराललाई ’पुन्य चौलागाईँ’ नामक वडा अध्यक्षको निकै फरक र रोचक अवतारमा प्रस्तुत गरिएको छ ।
फस्र्ट लुक भिडियोमा पृष्ठभूमिबाट गुन्जिने “जहाँ समस्या त्यहाँ पुन्य चौलागाईँ“ भन्ने संवाद र लगत्तै पुन्यको “यो गाउँमा बाहेक अरु को नै छ र मेरो आफ्नो“ भन्ने संवादले उनी गाउँको एक चलाख र चतुर जनप्रतिनिधि हुन् भन्ने प्रस्ट पार्छ । बाक्लो जुँगा, चस्मा, ढाका टोपी र सुटमा सजिएका विजय बरालको एउटा दृश्य निकै प्रतीकात्मक र व्यङ्ग्यात्मक छ । ’पुन्य चौलागाई वडा अध्यक्ष’ लेखिएको नेमप्लेट अगाडि बसेर उनले पैसा बुझिरहेका (लेनदेन गरिरहेका) छन्, तर विडम्बना नै मान्नुपर्छ, उनको पछाडि भित्तामा टाँसिएको बोर्डमा भने ठुला अक्षरले ’भ्रष्टाचारलाई रोकौँ !’ लेखिएको छ। यसले चलचित्रमा नेपाली राजनीतिको यथार्थ र नेताहरूको दोहोरो चरित्रलाई डार्क कमेडीको माध्यमबाट कसिलो व्यङ्ग्य प्रहार गरिएको सङ्केत गर्छ। यसका साथै, वडा अध्यक्ष पुन्य चौलागाईँ सेतो घोडामा चढेर हातमा दुईवटा स्ट्यान्ड फ्यान बोकेर हिँडिरहेको र गाउँलेहरूले पहाडी बाटोमा एउटा ठुलो काठको बाकस बोकेर हिँडिरहेको दृश्यले कथाको गहिराइलाई थप रहस्यमयी बनाएको छ ।
चलचित्रको कथा सडक सञ्जाल राम्रोसँग नपुगेको एक विकट गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्किन्जेल शवलाई सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ उक्लिँदा आइपर्ने उथलपुथल र रमाइला परिस्थितिहरूमा केन्द्रित छ । भिडियोमा गाउँलेले बोकेको उक्त काठको बाकसभित्र त्यही ’डीप फ्रिज’ रहेको सहजै अनुमान गर्न सकिन्छ । हिट चलचित्र ’बेहुली फ्रम मेघौली’ निर्माण तथा निर्देशन गर्ने जोडी सजन काफ्ले र आकास बरालको संयुक्त निर्देशन एवं पटकथा रहेको छ ।
कास्कीको धिताल गाउँ, अर्मलाकोट, घार्मी र बगर लगायतका रमणीय बस्तीहरूमा यसको छायांकन गरिएको छ । चलचित्रमा विजय बरालका साथै प्रकाश घिमिरे, राजन भुसाल, सनिशा भट्टराई, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक, सन्जोग रसाइली लगायतका कलाकारहरूको अभिनय रहेको छ। मोती कार्की कार्यकारी निर्माता रहेको चलचित्रलाई निशाल पौडेलले खिचेका हुन् भने चानस पुन मगरको सम्पादन, राजेन्द्र मोक्तानको रङ्ग संयोजन र अङ्कित बाबु अधिकारीको सङ्गीत रहेको छ । काठमाडौं उपत्यका बाहिर कुबेर सिने डिस्ट्रिब्युसन र उपत्यकामा डि सिएनले वितरण गर्ने यो चलचित्रले तिहारको बिदामा दर्शकलाई भरपूर मनोरञ्जन दिने विश्वास निर्माण पक्षको छ ।
अब पठाओ एपबाट हेलिकप्टर पनि बुक गर्न मिल्ने
एक घण्टा अगाडि
अवैध लागूऔषध सहित भक्तपुरबाट एकजना पक्राउ
२ घण्टा अगाडि
नेपालमा सबैभन्दा धेरै चीनबाट भित्रियो विदेशी लगानी
३ घण्टा अगाडि