logo-image

शुक्रबार, ०५ भदौ २०८३

सुशासन कायम गर्ने कार्यमा राजनीतिक हस्तक्षेप हुँदैनः सभापति लामिछाने

बिहिबार, ०४ भदौ २०८३ · राजनीति

सुशासन कायम गर्ने कार्यमा राजनीतिक हस्तक्षेप हुँदैनः सभापति लामिछाने

काठमाडौं, भदौ ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने सन्दर्भमा सरकारको तर्फबाट कुनैपनि किसिमको राजनीतिक हस्तक्षेप नहुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 
बिहीवार सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै लामिछानेले सरकारले कसैप्रति पनि कुनै किसिमको आग्रह–पूर्वाग्रह नराख्ने स्पष्ट पार्नुभयो । उहाँले प्रचलित कानूनले दिएको अधिकारलाई सदुपयोग गर्दै सुशासन प्रवद्र्धन गर्ने कार्यमा सरकार दृढ रहेको बताउनु भयो । बैठकमा सभापति लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वर्तमान नेतृत्व अघिल्ला सरकारहरूको पालामा नियुक्त भएको स्मरण गराउनु भयो ।  वर्तमान सरकार गठन भएपछि अख्तियारको नेतृत्वमा कोही पनि नयाँ नियुक्त नभएको र उहाँहरू पूर्ववर्ती सरकारहरूको सिफारिस र संसदीय सुनुवाइ प्रक्रिया पूरा गरेरै आउनुभएको बताउनु भयो । 
सभापति लामिछानेले भन्नुभयो, ‘म सत्तारूढ दलको सभापतिको हैसियतले स्पष्ट भन्न चाहन्छु,सरकारको कुनै आग्रहपूर्वाग्रह छैन । कानूनले दिएको अधिकारको सदुपयोग गर्दै सुशासन कायम गर्ने काममा सरकारबाट कुनै किसिमको राजनीतिक हस्तक्षेप हुनेछैन । अख्तियारको वर्तमान नेतृत्व सरकार गठन भएपछि नियुक्त भएको होइन । पूर्ववर्ती सरकारहरूले संवैधानिक प्रक्रिया, सिफारिस र संसदीय सुनुवाइका आधारमा उहाँहरू नियुक्त हुनुभएको हो । त्यसैले आयोगले आफ्नो संवैधानिक जिम्मेवारी स्वतन्त्र र निष्पक्ष रूपमा निर्वाह गर्न सरकारबाट कुनै दबाब वा हस्तक्षेप हुँदैन । मेरो उपस्थितिले आयोग र माननीयज्यूहरूलाई आफ्ना कामकारबाही अघि बढाउन थप सहज हुन्छ भने त्यसमा म खुशी नै हुनेछु ।’
उहाँले राज्यका जिम्मेवार निकायहरूलाई कानुनसम्मत ढंगले कार्यसम्पादन गर्न दिनुपर्नेमा जोड दिँदै त्यस्ता निकायहरूको स्वायत्ततामा राजनीतिक तहबाट कुनै हस्तक्षेप नहुने विश्वास समेत व्यक्त गर्नुभयो ।