logo-image

शुक्रबार, १५ साउन २०८३

धनुषाको जनकपुरधामसहितका क्षेत्रमा जारी निषेधाज्ञा दोस्रो दिन पनि यथावत

शुक्रबार, १५ साउन २०८३ · समसामयिक

धनुषाको जनकपुरधामसहितका क्षेत्रमा जारी निषेधाज्ञा दोस्रो दिन पनि यथावत

धनुषा, साउन १५ ।  सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधामसहित जिल्लाका विभिन्न क्षेत्रमा जारी गरेको अनिश्चितकालीन निषेधाज्ञा (कफ्र्यु) शुक्रवार दोस्रो दिन पनि कायमै राखेको छ । 
शान्ति सुरक्षाको अवस्थालाई सुदृढ बनाउन, सम्भावित अप्रिय घटना नियन्त्रण गर्न तथा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले प्रशासनले बिहीवार अपराह्न ३ः३० बजेदेखि निषेधाज्ञा लागू गरेको थियो । उक्त आदेशलाई शुक्रवार पनि निरन्तरता दिइएकाले सम्बन्धित क्षेत्रमा सर्वसाधारणको आवतजावत पूर्ण रूपमा ठप्प रहेको छ । प्रशासनद्वारा जारी आदेशअनुसार निषेधाज्ञा अवधिभर तोकिएको क्षेत्रमा कुनै पनि व्यक्तिलाई हिँडडुल गर्न, समूहमा भेला हुन, जुलुस निकाल्न, प्रदर्शन वा सभा–सम्मेलन गर्न पूर्ण प्रतिवन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले आदेशको उल्लङ्घन गर्ने जो–कोहीलाई प्रचलित कानूनबमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिएको छ । निषेधाज्ञा लागू भएका क्षेत्रहरूमा धनुषाको लक्ष्मीनिया हाटबजार चोकदेखि सिनुरजोडा चोक हुँदै लक्ष्मीपुर बगेवासम्म, बेलौनी रोडस्थित एमक्यू स्टिल क्षेत्रदेखि हुलाकी सडक तथा राष्ट्रिय प्राथमिक विद्यालय आसपासका क्षेत्रहरू रहेका छन् । त्यसैगरी, नगराइन नगरपालिका क्षेत्रदेखि नगराइन चोकसम्म तथा सिनुरजोडा, सोहनी, मनिमण्डप, नेपाल नर्सरी, इस्कोन जनकपुरधाम, दुधमती पुल, बेला र कादरी मस्जिद आसपासका क्षेत्रमा समेत कफ्र्यु आदेश प्रभावकारी रहेको प्रशासनले जनाएको छ । –न्युज एजेन्सी नेपाल