logo-image

शुक्रबार, १५ साउन २०८३

ब्रड पिक हिमपहिरो अपडेट : बेपत्ता १० आरोहीमध्ये ४ जनाको शव फेला, दुईजनाको पहिचान

शुक्रबार, १५ साउन २०८३ · समसामयिक

ब्रड पिक हिमपहिरो अपडेट : बेपत्ता १० आरोहीमध्ये ४ जनाको शव फेला, दुईजनाको पहिचान

काठमाडौं, साउन १५ । पाकिस्तानको काराकोरम पर्वतशृंखलास्थित विश्वको १२औँ अग्लो हिमाल ब्रड पिक (८,०४७ मिटर) मा हिमपहिरोमा परेर बेपत्ता भएका १० अन्तर्राष्ट्रिय आरोहीमध्ये चार जनाको शव फेला परेको पाकिस्तानका अधिकारीहरूले जनाएका छन्। बाँकी छ जना आरोहीको खोजी तथा उद्धार कार्य स्थल र हवाई माध्यमबाट शुक्रबार पनि जारी रहेको छ।

पाकिस्तान सरकारका दुई वरिष्ठ अधिकारीका अनुसार प्रतिकूल मौसमका बाबजुद फेला परेका चार शव सुरक्षित रूपमा निकाल्ने प्रयास भइरहेको छ।  पाकिस्तानी सञ्चारमाध्यम 'डन'ले अल्पाइन क्लब अफ पाकिस्तान (एसीपी) लाई उद्धृत गर्दै जानकारी दिए अनुसार फेला परेका चार शवमध्ये दुईजनाको पहिचान खुलेको छ, उनीहरू नाधिरा अहमद अब्दुल्लाह अल हार्थी (ओमानकी आरोही) र  पुरबहादुर गुरुङ (नेपाली आरोही) रहेका छन्।

बेपत्ता आरोहीहरूको टोलीमा नेपालमा जन्मिएका बेलायती विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ), पाकिस्तानी पर्वतारोहण गाइड सोहेल साखी, अमेरिकी आरोही म्यालोरी गाइस, साथै चार नेपाली, एक ओमानी र एक चिनियाँ आरोही रहेका छन्।

यसअघि बिहीबार हिमपहिरोपछि आरोहीहरूको आधार शिविरसँग सम्पर्क टुटेको थियो। त्यसपछि पाकिस्तान सेनाको हेलिकोप्टरसहित स्थल र हवाई उद्धार टोली परिचालन गरिएको थियो। उद्धारकर्मीहरू आरोहीहरूले अन्तिम पटक सम्पर्क गरेको क्षेत्रमा केन्द्रित भएर खोजी गरिरहेका छन्।

अल्पाइन क्लब अफ पाकिस्तानका उपाध्यक्ष करार हैदरीले उद्धार कार्यमा अनुभवी टोली परिचालन गरिएको र सम्बन्धित सबै निकायसँग समन्वय भइरहेको बताएका छन्। उनले बेपत्ता आरोहीका परिवारसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिँदै उनीहरूको सुरक्षित अवस्थाको कामना गरेका छन्।

निर्मल पुर्जा सन् २०१९ मा विश्वका १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल १८९ दिनमै आरोहण गरेर विश्व कीर्तिमान बनाएका पर्वतारोही हुन्। उनको उक्त उपलब्धिलाई नेटफ्लिक्सको चर्चित डकुमेन्ट्री "14 Peaks: Nothing Is Impossible" मा पनि समेटिएको छ।

ब्रड पिक पाकिस्तानको काराकोरम पर्वतशृंखलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल हो। यस क्षेत्रमा हिमपहिरो, खराब मौसम र उच्च हिमाली जोखिमका कारण पर्वतारोहणका क्रममा दुर्घटना हुने घटना पटक–पटक हुने गरेका छन्।

उद्धार अभियान जारी रहेकाले बेपत्ता आरोहीहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ।