शनिबार, २३ साउन २०८३
शुक्रबार, २२ साउन २०८३ · राजनीति
काठमाडौं, साउन २२ । साउन २९ देखि ३१ गते हुने नेपाली काँग्रेस संस्थापन इतर पक्षको भेलामा पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहभागि बन्नुहुने भएको छ ।
नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले शुक्रवार चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराउनुभएको हो । उहाँले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएकोमा खुशी व्यक्त गर्नुभयो । नेता कोईरालाले पार्टी पूर्वसभापति शेरबहादुर देउवाका तर्फबाट दायर गरिएको न्यायिक पुनरावलोकनको निवेदनमा सर्वोच्च अदालतले २०८३ साउन २१ गते अनुमति प्रदान गरेको जानकारी दिनुभयो । उहाँले अदालतको उक्त निर्णयलाई स्वागत गर्दै आगामी न्याय निरूपणबाट पार्टीले न्याय पाउनेमा आफूहरू विश्वस्त रहेको बताउनु भयो । सर्वोच्चको पछिल्लो निर्णयले भेलाको कार्यदिशामा कुनै परिवर्तन नल्याउने बरु कार्यकर्ताहरूमा थप उत्साह जगाउने उहाँको दाबी छ ।
पार्टीको आन्तरिक एकता र भावी कार्यदिशा तय गर्न आयोजना गरिएको राष्ट्रिय भेलाका बारेमा प्रष्ट पार्दै नेता कोईरालाले भन्नुभयो, ‘मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टीलाई वैचारिक र सांगठनिक रूपमा एकतावद्ध बनाउन यो भेला कोशेढुङ्गा सावित हुनेछ । पहिले हामीले १० देखि २० हजारको सहभागिता हुने अनुमान गरेका थियौँ, तर अदालतको यो निर्णयपछि पार्टी पंक्तिमा सकारात्मक सन्देश गएको छ, जसका कारण भेलामा उल्लेख्य सहभागिता हुने देखिएको छ, । पूर्णजी अस्वस्थ हुनुहुन्छ र शेखर दाइ विराटनगरमा आफ्नै काममा व्यस्त हुनुभएकोले उपस्थित हुन नसक्नुभएको हो तर यो अभियानमा उहाँहरूको पूर्ण समर्थन र ऐक्यवद्धता रहेको छ ।’
साउन २६ गते पूर्वसभापति स्वदेश फर्कने सन्दर्भमा उठाइएका आशंकाहरूबारे बोल्दै उहाँले कुनै पनि प्रकारको धरपकड हुने सम्भावना नरहेको र यदि त्यसो गरिएमा पार्टीले कडा प्रतिवाद गर्ने बताउनु भयो । साथै, उहाँले आफू पूर्वसभापतिलाई भेट्न हङकङ नगएको समेत स्पष्ट पार्नुभयो । नेपाली काँग्रेसका भ्रातृ संस्था, शुभेच्छुक तथा सम्पूर्ण कार्यकर्ताहरूलाई भेलामा सहभागी हुन आह्वान गर्दै नेता कोईरालाले राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्तमा आधारित भएर पार्टीलाई नयाँ जीवन दिने दृढ संकल्प व्यक्त गर्नुभयो ।