काठमाडौं, साउन १५। ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराध सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा तत्कालीन नेपाल दूरसञ्चार प्राधिकरणका कार्यकारी अध्यक्ष ललितपुर, ललितपुर महानगरपालिका-२३ बस्ने दाङ घर भएका ५२ वर्षीय भुपेन्द्र भण्डारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी अनुमति प्राप्त भएपश्चात केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
नेपाल दूरसञ्चार प्राधिकरण काठमाडौंबाट २०७० वैशाख ०२ गते स्मार्ट टेलिकम प्रालिको नाममा प्रदान गरिएको आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र नियमानुसार नवीकरण नगरेको कारणबाट २०८० वैशाख २ गते देखि स्वतः रद्द भएको थियो । अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ वमोजिम सम्पूर्ण सम्पत्ति र दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल समेतको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणको नाममा आएकोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनसेल आजीयाटा लिमिटेडको मिलेमतोमा गैर कानुनी रूपमा लिलाम गरी/गराई नेपाल सरकार/दूरसञ्चार प्राधिकरणको हक हनन गरी गैर कानुनी रूपमा लिलामी गरेको ठगी, आपराधिक विश्वासधात तथा संगठित अपराध मुद्दामा उनको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।