logo-image

बिहिबार, २४ वैशाख २०८३

प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक आज बस्दै: सपना प्रधान मल्ल सहभागी हुन नपाउने

बिहिबार, २४ वैशाख २०८३ · राजनीति

प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक आज बस्दै: सपना प्रधान मल्ल सहभागी हुन नपाउने

काठमाडौं, वैशाख २४ । सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा नियुक्तिको सिफारिस गर्न संवैधानिक परिषद्को बैठक आज बिहीबार साँझ ५:०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ।

तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण गत चैत १८ गते सेवानिवृत्त भएपछि अहिले सर्वोच्च अदालतको नेतृत्व वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम (का.मु.) प्रधानन्यायाधीशका रूपमा सम्हालिरहनुभएको छ। संवैधानिक व्यवस्थाअनुसार, प्रधानन्यायाधीशको नियुक्तिको विषयमा छलफल हुँदा कायममुकायम प्रधानन्यायाधीश परिषद्को सदस्यका रूपमा बैठकमा सहभागी हुन नपाउने भएकाले आजको बैठकमा उहाँलाई आमन्त्रण गरिएको छैन।

प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने यस बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र उपसभामुख रुवी कुमारी सहभागी हुनुहुनेछ। न्यायपरिषद्ले यसअघि नै सपना प्रधान मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम प्रधानन्यायाधीशका लागि सम्भावित उम्मेदवारका रूपमा सिफारिस गरिसकेको छ।

आजको बैठकले यी नामहरूमध्येबाट एकजनालाई नयाँ प्रधानन्यायाधीशका लागि सिफारिस गर्ने मुख्य कार्यसूची रहेको छ। परिषद्को सिफारिसपछि संसदीय सुनुवाइको प्रक्रिया पूरा भएर राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक प्रावधान रहेको छ।

ताजा समाचार