बुधबार, ३० वैशाख २०८३
बुधबार, ३० वैशाख २०८३ · राजनीति
काठमाडौं, वैशाख ३० । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन सभामुखसँग रुलिङ गर्न आग्रह गरेको छ ।
प्रतिनिधि सभाको बुधवार बसेको बैठकमा काँग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री सदनमा अनुपस्थित रहेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले प्रधानमन्त्री आफैले प्रश्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन सदनमा उपस्थित हुनुपर्ने बताउनु भयो । उहाँले संसदको गरिमा जोगाउने जिम्मेवारी सभामुखको भएको उल्लेख गर्दै प्रधानमन्त्रीलाई रुलिङ गरेर संसदमा बोलाउन आग्रह गर्नुभयो ।
राईले भन्नुभयो, ‘हिजो हामीले प्रधानमन्त्रीको सदमा उपस्थिति खोजेका थियौँ, आज पनि अवस्था उस्तै छ । सदनमा मैले प्रधानमन्त्री देखिरहेको छैन, उहाँ आफैले बनाएको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसुची आज देखिएको छ, तर सदनमा प्रधानमन्त्रीज्युलाई हामीले देख्न सकेनौँ । सदनको गरिमा बढाउने र ईज्जत राख्ने भुमिका सभामुखको हो । हजुर हाम्रो नायक पनि हो । तपाईंले सदनको ईज्जत राख्नुभएन भने कसैले पनि सदनको गरिमा बढाउन र ईज्जत राख्न सक्दैन । त्यसैले सभामुख मार्फत सम्माननीय प्रधानमन्त्रीज्युलाई रुलिङ गरेर सभामा बोलाउन अनुरोध गर्दछु ।’
उहाँले महाभियोग बाहेक अरु अवस्थामा संसदमा न्यायधीश र न्यायलयको बारेमा बहस गर्न नपाईने बताउनु भयो । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता गणेश पराजुलीले मंगलवार संसदको रोष्टम प्रयोग गरेर न्यायधीशको आलोचना गरेको भन्दै उहाँले असन्तुष्टी जनाउनु भयो । उहाँले रास्वपा संविधानभन्दा माथी हो ? भन्दै प्रश्न उठाउनु भयो । उहाँले सभामुखलाई असंवैधानिक गतिविधि रोक्न ध्यानाकर्षण समेत गराउनु भयो ।