सोमबार, ०८ भदौ २०८३
सोमबार, ०८ भदौ २०८३ · राजनीति
काठमाडौं, भदौ ८ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माणका लागि राज्य, पेशागत संस्था, सार्वजनिक निकाय र समाजबीचको घनिष्ठ सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
सोमवार काठमाडौंमा आयोजित ‘हेमबहादुर मल्ल सम्मान २०८१/२०८२’ वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सबैको साझा प्रयासबाट मात्र न्यायपूर्ण, सक्षम र समृद्ध नेपाल निर्माण सम्भव हुने उल्लेख गर्नुभएको हो । राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै नागरिकको अपेक्षाअनुरूप देश विकास गर्नु सबैको साझा कर्तव्य भएको बताउनु भयो । वर्तमान समयमा निराशा र आवेगभन्दा पनि आशा, भरोसा र विश्वासका साथ आर्थिक समृद्धिको गुरुत्तर दायित्व पूरा गर्नतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । जनताले झन्झटरहित रूपमा पाउने छिटोछरितो सेवा, निर्णय प्रक्रियाको पारदर्शिता, संस्थागत जवाफदेहिता, न्यायपूर्ण व्यवहार र विधिको शासन नै राज्यको वास्तविक सफलताको कडी भएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘ राज्य, पेशागत संस्था, सार्वजनिक संस्था र समाजबीचको सहकार्यले राष्ट्र निर्माणका लागि आवश्यक सकारात्मक मूल्यहरूलाई संस्थागत गर्नसक्छ । सबैको साझा प्रयासबाट न्यायपूर्ण, सक्षम, उत्तरदायी र समृद्ध नेपाल निर्माण गर्न सकिन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै नागरिकको अपेक्षाअनुरूप देश विकासको चाहनालाई मूर्त रूप दिनु हामी सबैको कर्तव्य हो । निराशा, आवेग र असन्तुष्टिभन्दा आशा, भरोसा र विश्वासको जगमा आर्थिक रूपमा समृद्ध राष्ट्र निर्माण गर्ने गुरुत्तर दायित्वतर्फ हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्नु आजको आवश्यकता हो । मुलुकको बदलिँदो परिवेशमा जनताको विकासको चाहना सुशासनका माध्यमबाट पूरा गर्नुपर्छ । सूचना प्रविधिको तिब्र विकाससँगै विस्तार भइरहेको विश्वव्यापीकरण र आधुनिकीकरणको वर्तमान समयमा राज्यको सफलता र विकासको मापन आर्थिक सूचकहरूले मात्र गर्नु हुँदैन । जनताले राज्यबाट झन्झटरहित, छिटोछरितो र गुणस्तरीय सेवा प्राप्त गर्ने अवस्था, निर्णय प्रक्रियाको पारदर्शिता, संस्थागत जवाफदेहिता, न्यायपूर्ण व्यवहार, विधिको शासन तथा सार्वजनिक संस्थाप्रतिको विश्वासलाई पनि राज्यको सफलता र विकासका महत्त्वपूर्ण आधारका रूपमा लिनुपर्छ । वास्तवमा दिगो विकास सक्षम संस्था, दक्ष संस्थागत नेतृत्व तथा उच्च नैतिकता, व्यावसायिकता र उत्तरदायित्वको संस्कृतिमा निर्भर हुन्छ । यस सन्दर्भमा नेपाल जनप्रशासन संघजस्ता पेशागत तथा प्राज्ञिक संस्थाले नीति निर्माण, प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रवाह र सुशासनका क्षेत्रमा विगतमा जस्तै आगामी दिनमा पनि अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास मैले लिएको छु ।’
दिगो विकासका लागि सक्षम संस्था, दक्ष नेतृत्व, उच्च नैतिकता र व्यावसायिक उत्तरदायित्वको संस्कृति अपरिहार्य रहने उहाँको भनाइ छ । सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल जनप्रशासन संघ जस्ता प्राज्ञिक तथा पेशागत संस्थाहरूले नीति निर्माण, प्रशासनिक सुधार र सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा आगामी दिनमा अझ प्रभावकारी भुमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल