logo-image

मङ्गलबार, ०९ असार २०८३

रास्वपा महाधिवेशनः बन्दसत्र जारी, नयाँ नेतृत्व चयनका लागि मतदान बुधबार

मङ्गलबार, ०९ असार २०८३ · राजनीति

रास्वपा महाधिवेशनः बन्दसत्र जारी, नयाँ नेतृत्व चयनका लागि मतदान बुधबार

चितवन, असार ९ । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र मंगलबार सुरु भएको छ भने नयाँ नेतृत्व चयनका लागि मतदान भोलि बुधबार हुने भएको छ।

निर्धारित कार्यतालिकाभन्दा एक दिन ढिलो गरी सुरु भएको बन्दसत्र महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण प्रभावित बनेको थियो। उक्त विवाद समाधान गर्ने जिम्मेवारी पार्टी सभापति रवि लामिछानेलाई दिइएपछि बन्दसत्र सञ्चालनको बाटो खुलेको हो। मंगलबार दिउँसो २ बजेका लागि तय गरिएको बन्दसत्र पनि करिब डेढ घण्टा ढिलो गरी अपराह्न ३:३० बजे सुरु भएको थियो।

पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार बन्दसत्र सम्पन्न भएपछि निर्वाचन प्रक्रिया सुरु गरिनेछ। संशोधित कार्यतालिकाअनुसार बन्दसत्र साँझ ६:४५ बजेसम्म सञ्चालन हुनेछ।

नयाँ नेतृत्व चयनका लागि रास्वपाले ई–भोटिङ प्रणाली अपनाउने तयारी गरेको छ। विदेशमा रहेका महाधिवेशन प्रतिनिधिहरूले पार्टीको आधिकारिक एपमार्फत मतदान गर्न सक्नेछन्। निर्वाचनमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्य चयनका लागि ८० वटा विद्युतीय मतदान मेसिन प्रयोग गरिनेछ।