logo-image

बिहिबार, २९ असोज २०८३

चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ३ जनाको शव फेला, २ वटा बाहिर निकालियो

बुधबार, ३१ भदौ २०८३ · समसामयिक

चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ३ जनाको शव फेला, २ वटा बाहिर निकालियो

 

काठमाडौं, भदौ ३१ । गत भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोजीका क्रममा आज (भाद्र ३१ गते) ३ जनाको शव फेला परेको छ।

बाढीपछि सुरुङभित्र बेपत्ता भएकाहरूको उद्धारका लागि विदेशी विशेषज्ञसहितको संयुक्त टोली निरन्तर खटिएको छ। उद्धार टोलीले हेलिकप्टरमार्फत स्याफ्रूबेँसीमा अवस्थित आयोजनास्थलमा 'एक्साभेटर' र 'लोडर' पुर्‍याएर चट्टान फोड्दै करिब १ हजार ५० मिटर बाटो निर्माण गरी सुरुङसम्म पहुँच पुर्‍याएको थियो।

सुरुङभित्रको लेदो हटाउने क्रममा टनेलको करिब ७० मिटर भित्रबाट पानी निस्किरहेको फेला परेको थियो। उक्त प्वालबाट टोली प्रवेश गरी करिब १३० मिटरसम्म खोजी गर्दा पानीको सतह टनेलको माथिल्लो भागसम्म पुगेकाले मेसिन प्रयोग गर्न कठिन बनेको थियो।

तसर्थ, आज गोताखोरसहितको टोली जोखिम मोलेर उक्त प्वालबाट प्रवेश गरी टनेलको अन्तिम किनारासम्म पुग्दा ३ वटा शव फेला पारेको हो। फेला परेकामध्ये २ वटा शव बाहिर निकालिसकिएको छ भने बाँकी एक शव बाहिर निकाल्ने प्रयास जारी छ।

सुरुङभित्र थप कोही फसेको हुन सक्ने आशङ्कामा गोताखोर र उद्धार टोलीले खोजी कार्यलाई निरन्तरता दिइरहेको छ।