शनिबार, २६ वैशाख २०८३
शुक्रबार, २५ वैशाख २०८३ · राजनीति
काठमाडौं, वैशाख २५ । सरकारले विभिन्न देशमा रहेका १५ जना अवैतनिक दुतहरुलाई पदमुक्त गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो । विभिन्न देशमा रहेका अवैतनिक दुतहरुलाई फिर्ता बोलाउने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो ।
त्यसैगरी बैठकले यही वैशाख २८ गते सोमबार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नका लागि राष्ट्र रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी बैठकमा अनिवार्य रुपमा उपस्थित हुनका लागि सांसदहरुलाई आह्वान गरिएको सरकारका प्रवक्ता पोखरेलले बताउनु भयो ।
उहाँले भन्नुभयो,‘सम्माननीय राष्ट्रपतिज्यु समक्ष संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई संवत २०८३ साल वैशाख २८ गते सोमवारका दिन ४ बजे सम्बोधन हुन र त्यसका लागि संघीय संसदका माननीय उपस्थिति आह्वान गर्ने । विदेशस्थित १५ जना नेपाली अनरली काउन्सिल जनरल तथा काउन्सिलरलाई पदमुक्त गर्ने । अन्तराष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धि २०१४ को प्रोटोकल नम्बर २९ पि ०२९ अनुमोदनमा लागि संघीय संसदमा पेश गर्न स्विकृति दिने । असंलग्न श्रम संगठनको श्रम निरीक्षण सम्बन्धि महासन्धि १९४७ नम्बर ८१ अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने ।’
त्यसै गरी मन्त्रीपरिषद् बैठकले अन्तराष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धि २०१४ र असंलग्न श्रम संगठनको श्रम निरीक्षण सम्बन्धि महासन्धि, १९४७ अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान पनि गरेको छ ।–न्युज एजेन्सी नेपाल