logo-image

सोमबार, ०५ असोज २०८३

‘एमालेको केन्द्रीय कमिटी बैठक नेतृत्व परिवर्तन मात्र होइन, समग्र पार्टी पुनर्गठनको लक्ष्य हो’–ऐन महर

सोमबार, ०५ असोज २०८३ · राजनीति

‘एमालेको केन्द्रीय कमिटी बैठक नेतृत्व परिवर्तन मात्र होइन, समग्र पार्टी पुनर्गठनको लक्ष्य हो’–ऐन महर

काठमाडौं, असोज ५ ।  नेकपा (एमाले) को केन्द्रिय कमिटी बैठक सोमबारबाट शुरु भएको छ । 
महाधिवेशनपछिको सर्वोच्च निकायका रूपमा रहेको यस बैठकमा पार्टीको आन्तरिक पुनर्गठन, नीतिगत सुधार र समसामयिक राष्ट्रिय राजनीतिमा पार्टीको भुमिकाका विषयमा छलफल शुरु भएको हो । नेतृत्व परिवर्तनको चर्चालाई ‘अफवाह’ भन्दै एमालेले पार्टीलाई समग्र रूपमा नयाँ उचाईमा पु¥याउने कार्यभार बैठकको मुख्य एजेण्डा भएको प्रस्ट पारेको छ । नेकपा एमालेका सचेतक ऐनबहादुर महरकाअनुसार पार्टीको सचिवालयले यसअघि नै निर्वाचनको समीक्षा र पुनर्गठनको सन्दर्भमा सुझाव सङ्कलनको प्रक्रिया थालनी गरिसकेको छ । अहिले शुरु भएको केन्द्रिय कमिटी बैठकले पार्टीलाई लोकतान्त्रिक आन्दोलनको मूल प्रवाहका रूपमा सुदृढ गर्दै देशका वर्तमान कार्यभारहरू पूरा गर्न सक्ने गरी सशक्त बनाउने लक्ष्य लिएको महरले बताउनु भयो । तीन दिनसम्म चल्ने बैठकमा सबै केन्द्रिय सदस्यहरूले आफ्ना विचार राख्ने अवसर पाउने र त्यसबाट पार्टीलाई एकतावद्ध बनाउने ठोस निष्कर्ष निस्कने विश्वास नेतृत्वले लिएको छ । 
पार्टीभित्र र बाहिर नेतृत्व परिवर्तनका विषयमा फैलाइएका विभिन्न हल्लाप्रति लक्षित गर्दै महरले भन्नुभयो, ‘यो केवल नेतृत्व पुनर्गठनको विषय होइन । हामी पार्टीको नीति, व्यवहार र कार्यशैलीमा व्यापक सुधार गर्दै जनअपेक्षाअनुरूपको सुदृढ सङ्गठन निर्माण गर्ने दिशामा छौँ । हाम्रो पार्टी विधि र पद्धतिबाट चल्छ । हामी छलफलमा खुला छौँ, निर्णय प्रक्रियामा सामूहिक छौँ र कार्यान्वयनमा एकतावद्ध छौँ ।’
एमालेमाथि भइरहेको राजनीतिक आक्रमणलाई चिर्न राष्ट्रिय शक्तिहरूको ध्रुविकरण र लोकतन्त्रको रक्षाका लागि यो बैठक ‘कोशेढुङ्गा’ सावित हुने महरको दाबी छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रश्तुत गर्नुभएको सम्बोधनले पनि कार्यदलको प्रतिवेदन र पार्टी रूपान्तरणको विषयलाई उच्च प्राथमिकतामा राखेको छ । विपक्षीहरूको घेराबन्दीलाई चिर्दै एकतावद्ध एमाले निर्माण गर्ने र राष्ट्रिय मुद्दाहरूमा अडिग रहने सङ्कल्पका साथ बैठक अघि बढेको छ ।