बिहिबार, ०३ वैशाख २०८३
आइतबार, १५ चैत २०८२ · राजनीति
काठमाडौं, चैत्र १५ । भूटानमा राजनीतिक बन्दीहरूको रिहाइका लागि लामो समयदेखि अभियान चलाइरहेको संस्था, भुटानका राजबन्दी रिहाइका लागि विश्व अभियान (जीसीआरपीपीबी), ले नेपालका नवनियुक्त प्रधानमंत्री बालेन्द्र शाहलाई बधाई दिएको छ । संस्थाले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहको नियुक्तिलाई ऐतिहासिक उपलब्धि भन्दै उनलाई सुशासन, पारदर्शिता र रूपान्तरणकारी नेतृत्वको प्रतीकका रूपमा हेरिएको उल्लेख गरेको छ ।
जीसीआरपीपीबीका ग्लोबल कोअर्डिनेटर राम कार्कीद्वारा जारी विज्ञप्तिमा नेपालका लागि यो महत्वपूर्ण घडी भएको उल्लेख गर्दै दशकौँदेखि नेपालमा रहेका भूटानी शरणार्थीहरूको मानवीय समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्न प्रधानमन्त्री शाहलाई आग्रह गरिएको छ । विज्ञप्तिमा नेपाली मूलका हजारौँ भूटानी शरणार्थीहरू लामो समयदेखि अनिश्चिततामा जीवनयापन गरिरहेका छन् भन्दै धेरैजना अझैसम्म दीगो र सम्मानजनक समाधानको प्रतीक्षामा रहेको उल्लेख छ । अन्तर्राष्ट्रिय पुनर्वास कार्यक्रमले केही राहत दिएको भए पनि उल्लेख्य संख्यामा शरणार्थीहरू अझै अधिकार, अवसर र सुरक्षासम्बन्धी चुनौतीको सामना गरिरहेका छन् ।
प्रधानमन्त्री शाहको नियुक्तिपूर्वका हप्ताहरूमा जीसीआरपीपीबीले यस समस्याको न्यायोचित र दीगो समाधानका लागि आफ्ना मुख्य मागहरू पेश गरेको जनाउँदै ती मागहरू पुनः दोहोर्याएको छ। संस्थाले अहिले पनि पूर्वी नेपालका शरणार्थी शिविरहरुमा रहेका झन्डै छ हजार पाँच सय भूटानी शरणार्थीहरूका लागि स्वेच्छिक स्वदेश फिर्ती, स्थानीय समायोजन वा तेस्रो मुलुकमा पुनस्र्थापनाका लागि स्पष्ट र पारदर्शी विकल्प सुनिश्चित गर्न माग गरेको छ । साथै, भूटानसँग कूटनीतिक पहल गरी सुरक्षित र सम्मानजनक स्वदेश फिर्तीका लागि समयसीमासहित संवाद पुनः सुरु गर्न तथा शरणार्थी प्रतिनिधित्वसहित कार्यदल गठन गर्न पनि आग्रह गरेको छ । स्थायी समाधान नआएसम्म नेपालमा रहेका शरणार्थीहरूको संरक्षण, कानुनी हैसियत र आधारभूत अधिकारमा पहुँच सुदृढ गर्न, शरणार्थी व्यवस्थापन प्रणालीमा देखिएका अनियमितताहरू समाधान गरी जवाफदेहिता कायम गर्न, तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग सहकार्य गरी अधिकारमा आधारित दीर्घकालीन समाधान खोज्न पनि संस्थाले जोड दिएको छ । भुटानी राजनीतिक बन्दिहरूको रिहाइको लागि कुटनीतिक पहल गर्नु पनि आग्रह गरेको छ ।
विश्व अभियानले प्रधानमन्त्री शाहको नेतृत्वमा यी संवेदनशील मुद्दाहरूले आवश्यक ध्यान पाउने विश्वास व्यक्त गर्दै नेपालले भूटानी शरणार्थी समस्याको मानवीय र स्थायी समाधानतर्फ अघि बढ्ने अपेक्षा पनि गरेको छ । विश्व अभियानका अनुसार अहिले पनि भुटानका विभिन्न जेलहरुमा कम्तीमा ३० जना राजनीतिक बन्दीहरु दशकौं देखि थुनामा रहेका छन् ।