logo-image

बिहिबार, ०८ असोज २०८३

भोटेकोशी बाढी पीडितको राहत र पुनर्निर्माणमा राज्य प्रतिवद्धः ऊर्जामन्त्री श्रेष्ठ

बुधबार, ०७ असोज २०८३ · राजनीति

भोटेकोशी बाढी पीडितको राहत र पुनर्निर्माणमा राज्य प्रतिवद्धः ऊर्जामन्त्री श्रेष्ठ

 

काठमाडौ, असोज ७ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री श्रेष्ठले बेपत्ताहरूको खोजी कार्य जारी राख्दै प्रभावितहरूको जीवन सामान्य लयमा फर्काउन राज्य पूर्ण रूपमा प्रतिवद्ध रहेको स्पष्ट पार्नुभएको हो । गत भदौ १० गतेको बाढीले पु¥याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मन्त्री श्रेष्ठले आफन्त गुमाएका परिवारजनप्रति समवेदना प्रकट गर्नुभयो । उहाँले विपत्तिको यस घडीमा शोकलाई शक्तिमा बदल्दै नागरिकको भविष्य सुरक्षित बनाउनु आजको मुख्य चुनौती रहेको बताउनु भयो । उहाँले प्रतिकुल मौसम र भौगोलिक जटिलताका बाबजुद अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी र स्वयंसेवकहरूको योगदानको उच्च प्रशंसा गर्नुभयो । साथै, बाढीपीडितलाई सहयोग गर्न स्वदेश तथा विदेशबाट प्राप्त सहयोगप्रति उहाँले आभार व्यक्त गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘आँखा रसाएका छन् तर आशा मरेको छैन । विपत्तिको यो कठिन घडीमा सरकार नागरिकको साथमा छ । हाम्रो पहिलो दायित्व खोज तथा उद्धारलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिनु, घाइतेहरूको उपचार गर्नु र क्षतिग्रस्त सडक, पुल तथा विद्युतीय संरचनाहरूको पुनर्निर्माण गर्नु हो ।’
संसदमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री श्रेष्ठले प्रधानमन्त्री बालेन्द्र साह र रास्वपा सभापति रवि लामिछानेबीच भएको संवाद र विपत्तिमा देखिएको राजनीतिक दलहरूको ऐक्यवद्धताले थप हौसला मिलेको उल्लेख गर्नुभयो । जनताको जीवनभन्दा ठूलो अरू कुनै दायित्व नहुने भन्दै उनले क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई सरकारले विशेष योजनाका साथ अघि बढाउने प्रतिवद्धता जनाउनु भयो ।