शनिबार, ०५ वैशाख २०८३
शुक्रबार, ०४ वैशाख २०८३ · राजनीति
काठमाडौं, वैशाख ४ । सार्वजनिक लेखा समितिको सभापतिमा भरतबहादुर खड्का सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । शुक्रवार भएको समितिको बैठकमा ज्येष्ठ सदस्य सीताराम साहले खड्का बाहेक अरू कसैको उम्मेदवारी नभएको भन्दै सर्वसम्मत रूपमा निर्वाचित भएको घोषणा गरेका हुन् ।
ज्येष्ठ सदस्य साहले सभापतिको उम्मेदवारीका लागि एकमात्र प्रस्ताव आएको बताए । खड्कालाई सभापतिका लागि मोहनबहादुर आचार्यले प्रस्ताव गरेको थियो । खड्काले निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्तावको सूचना प्राप्त भएको भन्दै शाहले निर्वाचित भएको घोषणा गरे ।
निर्वाचित भएपछि समिति सभापति खड्काले लेखा समिति धेरै महत्त्वपूर्ण समिति भएको र आफूले जबाफदेहिता र जिम्मेवारी प्राप्त गरेको बताए । विगतको अनुभव, योग्यता क्षमतालाई प्रयोग गरेर काम गर्ने बताए ।
उनले आर्थिक सुशासन र वित्तीय अनुशासनलाई आफ्नो कार्यकालको प्रमुख एजेण्डा बनाउने स्पष्ट पारे । सभापति खड्काले विगतमा देखिएका केही विसङ्गतिहरू अब दोहोरिन नदिने प्रतिबद्धता जनाउँदै संघदेखि स्थानीय तहसम्म व्यापक सुधार आवश्यक रहेको औँल्याए । विभिन्न सरकारी निकायहरूमा पारदर्शिता, जबाफदेहिता र अनुशासन कायम गर्नुपर्नेमा जोड दिँदै उहाँले त्यसका लागि समिति सक्रिय रूपमा लाग्ने बताए ।
खड्काले भने ‘आर्थिक सुशासन र वित्तीय अनुशासन कायम राख्नेगरी म लेखा समितिलाई अघि बढाउनेछु । विगतका केही विसंगति छन् । अब ती दोहोरिने छैनन् । अहिलेको मुलुकको माग भनेको आर्थिक अनुशासन, वित्तीय सुशासन हो । यो कायम नगरी मुलुक अघि बढ्दैन र सुशासनको अनुभूति पनि हुँदैन । कुनैपनि मुलुकको विकास त्यो देशमा आर्थिक अनुशासन छ की छैन भन्ने कुराले त्यो देशको आर्थिक विकासलाई निर्धारण गर्छ । त्यसैले अब हामीले अब सुशासनको अनुभूति दिलाउने हो भने पहिलो सुधार संघदेखि लिएर स्थानीय तहसम्म गर्नुपर्छ । विभिन्न निकायहरूमा आर्थिक अनुशासन र वित्तीय सुशासन कायम गर्नुपर्छ । यसको अर्को विकल्प छैन । मैले यो कुरालाई प्रमुख एजेन्डाका रूपमा लिएको छु ।’
उनकाअनुसार आर्थिक अनुशासन र वित्तीय सुशासन कायम गर्नुको कुनै विकल्प छैन र यही आधारमा मुलुकको दिगो विकास सम्भव हुने धारणा व्यक्त गरे । साथै, नागरिकले प्रत्यक्ष रूपमा सुशासनको अनुभूति गर्ने वातावरण सिर्जना गर्न आफूले प्राथमिकता दिने पनि उनको भनाइ छ ।