logo-image

मङ्गलबार, २२ वैशाख २०८३

विद्यार्थीले राजनीति नेताबाट होइन, गुरुबाट सिकून् : प्रधानमन्त्री बालेन

मङ्गलबार, २२ वैशाख २०८३ · राजनीति

विद्यार्थीले राजनीति नेताबाट होइन, गुरुबाट सिकून् : प्रधानमन्त्री बालेन

काठमाडौं, वैशाख २२ ।  प्रधानमन्त्री बालेन शाहले मुलुकको शैक्षिक संस्था र कर्मचारीतन्त्रमा वर्षौँदेखि जकडिएको दलगत राजनीतिको अन्त्य गर्ने दृढ संकल्प व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले अबदेखि शिक्षालयमा राजनीतिक दलको झण्डा र कर्मचारीतन्त्रमा दलको झोला बोक्ने कार्यलाई पूर्णतः निषेध गरिएको घोषणा गर्नुभएको हो।

धेरै पत्रकार, नागरिक अगुवा र आम जनताले वर्षौँदेखि उठाउँदै आएको "पार्टीकरण" को समस्यालाई सम्बोधन गर्दै सरकारले अध्यादेशमार्फत यी विकृति हटाउने कठोर तर आवश्यक निर्णय लिएको उहाँले प्रस्ट पार्नुभयो।

प्रधानमन्त्री शाहका अनुसार विगतमा विद्यार्थी र कर्मचारी संगठनहरू सम्बन्धित क्षेत्रको हकहितका लागि भन्दा पनि राजनीतिक दलका "स्लिपर सेल" का रूपमा मात्र क्रियाशील रहे। जसका कारण योग्यता र क्षमताको अवमूल्यन भई दलगत पहुँच र झण्डाको मूल्य बढेको उहाँको ठम्याइ छ। यसले गर्दा सार्वजनिक सेवा प्रवाह र शैक्षिक गुणस्तर खस्किएको मात्र नभई समग्र सरकारी प्रणालीप्रति नै सर्वसाधारणको विश्वास धर्मराएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ। "हामीले अर्को एउटा नयाँ संगठन थप्ने सजिलो बाटो रोज्न सक्थ्यौँ, तर त्यसले समस्याको समाधान दिँदैन भन्ने विगतले देखाइसकेको छ," उहाँले भन्नुभयो।

राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन बनाउन नसकेर यस्तो निर्णय गरेको नभई, देशलाई संस्थागत मार्गमा लैजान यो साहसिक कदम चालेको प्रधानमन्त्रीको भनाइ छ। अबका दिनमा नियुक्ति, सरुवा र बढुवाको एक मात्र मापदण्ड "दलगत निकटता" नभई विधि, क्षमता र दक्षता हुने सुनिश्चित गरिएको छ। यो निर्णयले कर्मचारी र शिक्षकहरूको पेशागत स्वतन्त्रतालाई खोस्ने नभई उल्टै मर्यादित र बलियो बनाउने दाबी गरिएको छ। प्रधानमन्त्रीले विद्यार्थीहरूले गुरुबाट राजनीति र संस्कार सिक्नुपर्ने तर नेताको भीडबाट हिंसा र गुटबन्दी सिक्नु नहुनेमा जोड दिनुभएको छ।

यो कदम कुनै राजनीतिक दल विशेषको विरुद्ध नभई समग्र भविष्य र प्रणाली बचाउने प्रयास भएको प्रधानमन्त्रीको तर्क छ। "परिवर्तन केवल भाषणले आउँदैन, यसका लागि कठोर निर्णय र कार्यान्वयनको आवश्यकता पर्छ," भन्दै उहाँले आम नेपाली जनताको हितका लागि सरकारले यो जोखिम मोलेको बताउनुभयो। शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गरी जनताको सेवामा समर्पित गराउन सबै क्षेत्रबाट साथ र विश्वासको अपेक्षा गर्दै प्रधानमन्त्री शाहले अब देशलाई नयाँ शिराबाट अघि बढाउने प्रतिबद्धता समेत दोहोर्‍याउनुभएको छ।

उहाँ लेख्नुहुन्छ-

"धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन्“विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्यो।” वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका “स्लिपर सेल” बने।योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो।यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो।
राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर गरेको होइन। चाहने हो भने आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी संगठन बनाउन सक्छ।तर अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ भन्ने कुरा विगतले देखाइसकेको छ। त्यसैले अब स्पष्ट निर्णय आवश्यक थियो ,शिक्षालयमा दलको झण्डा निषेध।कर्मचारीतन्त्रमा दलको झोला निषेध।यसले अधिकार खोस्दैन, बरु पेशागत स्वतन्त्रता बलियो बनाउँछ।अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता बन्नुपर्छ।
हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन।कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन।हामी चाहन्छौं विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति; कर्मचारीले जनताको सेवा सिकून् , कुनै दलको होइन।यो कुनै पार्टीविरुद्धको लडाइँ होइन।यो प्रणाली बचाउने प्रयास हो।यो भविष्य बचाउने प्रयास हो।यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो।शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने यो प्रयास हो।त्यसैले तपाइहरुकै चाहना अनुरुप अध्यादेशमार्फत यी विकृतिहरू हटाएका छौ ।
हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ, तपाइको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ। हामी तपाइहरुकै जनचाहना बमोजीम काम गर्न सरकार मा आएका हौ। तपाइहरु ढुक्क हुनुस, हामि जे गर्छौ आम नेपाली जनताकै हितमा गर्छौ ।"

ताजा समाचार