logo-image

सोमबार, १८ जेठ २०८३

बिचौलिया भन्दै लेखापढी व्यवसायी पक्राउ: ललितपुर मालपोतको कामकाज ठप्प पार्ने चेतावनी

सोमबार, २३ चैत २०८२ · समसामयिक

बिचौलिया भन्दै लेखापढी व्यवसायी पक्राउ: ललितपुर मालपोतको कामकाज ठप्प पार्ने चेतावनी

ललितपुर, चैत्र २३ । ललितपुरस्थित भूमि सुधार तथा मालपोत कार्यालयको प्राङ्गणबाट लेखापढी व्यवसायीहरूलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन, पाटन इकाई समितिले कडा आपत्ति जनाएको छ।

 नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन, पाटन इकाई समितिले एक विज्ञप्ति जारी गर्दै प्रहरीले आफ्ना आधिकारिक सदस्यहरूलाई 'बिचौलिया' को झुठो आरोपमा अपमानजनक ढंगले नियन्त्रणमा लिएको भन्दै घोर भर्त्सना गरेको छ। कानुनबमोजिम इजाजत प्राप्त गरी भू-सेवा केन्द्र सञ्चालन गरिरहेका व्यवसायीहरूलाई पक्राउ गरिनु पेशागत मर्यादा र संवैधानिक अधिकारमाथिको प्रहार भएको एसोसिएसनको ठहर छ।

यसै विरोधस्वरुप समितिले ललितपुरमा सम्पूर्ण लेखापढी र अनलाइन भू-सेवाका कार्यहरू तत्कालका लागि ठप्प पार्ने निर्णय गरेको छ। संस्थाको निर्णय उल्लंघन गर्ने सदस्यलाई कारबाही गर्ने चेतावनी दिँदै एसोसिएसनले पेशागत सुरक्षा र सम्मानको ग्यारेन्टी नभएसम्म आन्दोलन जारी राख्ने बताएको छ, जसका कारण मालपोत र नापी कार्यालयमा आउने सेवाग्राहीहरू मर्कामा पर्ने देखिएको छ।

एसोसिएसनका सचिव भरत घिमिरेद्वारा जारी विज्ञप्तिमा पक्राउ परेका व्यक्तिहरू नेपाल कानुन व्यवसायी परिषद् ऐन २०५० र लेखापढी व्यवसायी सम्बन्धी नियमावली २०५१ बमोजिम आधिकारिक प्रमाणपत्र प्राप्त व्यवसायी भएको स्पष्ट पारिएको छ।

आइतबार मालपोत कार्यालय ललितपुरमा सेवाग्राहीको काम गरिरहेका लेखापढी व्यवसायीहरूलाई 'बिचौलिया' को आरोप लगाउँदै प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउ परेका व्यवसायीहरूलाई जिल्ला प्रहरी परिसर, जावलाखेल पुऱ्याइएको थियो। 

 

ताजा समाचार