मङ्गलबार, ०१ मंसिर २०८३
मङ्गलबार, ०१ मंसिर २०८३ · समसामयिक
सिन्धुली, मंसिर १ । छठ पर्व सकिएलगत्तै जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक गाडी सिन्धुलीको खुर्कोटनजिकै दुर्घटना हुँदा ९ जना यात्रु गम्भीर घाइते भएका छन्।
१५ जना सवार रहेको उक्त गाडी दुर्घटनामा परेपछि घटनास्थलमा रुवाबासी चलेको थियो। स्थानीयवासी र प्रहरीको सहयोगमा तत्कालै उद्धार गरी घाइतेहरूलाई खुर्कोटस्थित अस्पताल पुर्याइए पनि त्यहाँ उनीहरूको उपचार असम्भवप्रायः बनेको छ। चिकित्सकहरूले गम्भीर घाइते ९ जनालाई तत्काल काठमाडौंस्थित ठूला अस्पतालमा ‘रिफर’ गर्नुपर्ने बताएका छन्।
तर, जीवन र मरणको दोसाँधमा रहेका बिरामीलाई काठमाडौं लैजानका लागि समयमै हेलिकप्टर उपलब्ध नभएपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन्। सरकार र प्रशासनले गम्भीर घाइतेको उद्धारमा गम्भीरता नदेखाएको आरोप लगाउँदै उनीहरूले खुर्कोट क्षेत्रमा सडक अवरुद्ध गरेका छन्। सडक बन्द हुँदा बिपी राजमार्गमा अहिले यातायात पूर्ण रूपमा ठप्प भएको छ भने घटनास्थलमा तनावपूर्ण स्थिति बनेको छ।