बिहिबार, ०३ वैशाख २०८३
बुधबार, ११ चैत २०८२ · राजनीति
काठमाडौं, चैत ११ । नवनिर्वाचित प्रतिनिधिसभामा स्पष्ट बहुमत हासिल गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले मुलुकको नयाँ प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हाल्ने हुनुभएको छ।
शाहले आगामी शुक्रबार दिउँसो ठीक १२:३४ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा हुने उक्त शपथ ग्रहण समारोहलाई विशेष सांस्कृतिक र आध्यात्मिक स्वरूप दिने तयारी गरिएको छ।
शपथ ग्रहण समारोहलाई भव्य र मङ्गलमय बनाउन विभिन्न धार्मिक विधिहरू अपनाइने भएको छ-
शङ्खध्वनि: ७ जना ब्राह्मण पुजारीहरूले मन्त्रोच्चारणका साथ शङ्ख फुकेर समारोहको शुभारम्भ गर्नेछन्।
स्वस्ति वाचन: १०८ जना बटुकहरूद्वारा सामूहिक रूपमा राष्ट्रको कल्याणका लागि 'स्वस्ति वाचन' गरिनेछ।
मङ्गल वचन: बौद्ध धर्म परम्परा अनुसार १०७ जना लामाहरूले विशेष 'मङ्गल वचन' पाठ गरी नयाँ सरकारको सफलताको कामना गर्नेछन्।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले बहुमत प्राप्त गरेपछि बालेन शाह प्रधानमन्त्री बन्न लाग्नुभएको हो। स्वतन्त्र धारबाट उदाएर छोटो समयमै मुलुकको कार्यकारी प्रमुख बन्न लाग्नुभएका शाहको यो सत्तारोहणलाई नेपाली राजनीतिमा एउटा 'ऐतिहासिक मोड' को रूपमा हेरिएको छ।
शपथ ग्रहणलगत्तै नवनियुक्त प्रधानमन्त्री शाहले सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने र केही महत्त्वपूर्ण जनपक्षीय निर्णयहरू सार्वजनिक गर्ने बुझिएको छ।