शनिबार, १२ मंसिर २०८३
आइतबार, २९ कात्तिक २०८३ · राजनीति
काठमाडौं, कात्तिक २९ । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन कुमार आचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणामा १० दिने औपचारिक भ्रमणका लागि आइतबार चीन प्रस्थान गरेको छ।
दुई देशबीचको राजनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने तथा विपद् व्यवस्थापन र आर्थिक विकासका क्षेत्रमा सहकार्यका अवसरहरू खोज्ने उद्देश्यसहित यो भ्रमण हुन लागेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री आचार्यले नेपाल र चीनका सत्तारूढ दलबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनु भ्रमणको मुख्य उद्देश्य रहेको बताए।
चिनियाँ कम्युनिष्ट पार्टीले रास्वपालाई यसअघि नै भ्रमणको निम्तो दिए पनि उपयुक्त समय र कार्यतालिका मिलेकाले हाल आएर मात्र भ्रमण संभव भएको उनले स्पष्ट पारे। महामन्त्री आचार्यका अनुसार यो भ्रमण मुख्यतया तीनवटा विषयमा केन्द्रित हुनेछ: पहिलो, राजनीतिक अनुभव, ज्ञान र विचारहरूको आदानप्रदानमार्फत रास्वपा र सीपीसीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने; र दोस्रो, दुई दलबीचको सम्बन्धलाई आधार बनाएर नेपाल र चीनबीच ज्ञान, प्रविधि तथा आपसी हितका अन्य विभिन्न क्षेत्रमा फराकिलो सहकार्यका अवसरहरू खोजी गर्ने।
साथै, आर्थिक सहकार्यका सम्भावना पहिचान गरी भविष्यमा दुई देशबीच उच्चस्तरीय भ्रमण तथा छलफलका लागि आधार तयार गर्ने उद्देश्यसमेत प्रतिनिधिमण्डलको रहेको छ । आचार्यले रास्वपा सभापति वा प्रधानमन्त्रीको आगामी चीन भ्रमणका क्रममा थप ठोस छलफल र सहकार्य अघि बढाउन अहिलेको प्रतिनिधिमण्डलको भ्रमणले आधार तयार गर्ने विश्वास व्यक्त गरे । १० दिनसम्म चल्ने भ्रमणका क्रममा भएका छलफल र गतिविधिबारे सञ्चारमाध्यमलाई नियमित रूपमा जानकारी गराइने पनि उनले बताए।